हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन २ जनाको मृत्यु भएको छ भने एकजनाको शव भेटिएको छ । प्रदेशको सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो भने रामेछापमा एक जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेको बनेपा नगरपालिका–७, चाँदनीचोकमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा बा प्र ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०१–००४ क ३४२३ नम्बरको ट्रिपरले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका–५, खड्पुका ३२ वर्षीय ओमन प्रधान गम्भीर घाइते भएका थिए । घाइते प्रधानलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा बिहान ८ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रिपर चालक सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–६ का ३२ वर्षीय दीपक रोक्का जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेका छन् । घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । उनिहरुले ढुंगा–मुढा गर्दै ट्रिपरमा आगजनीसमेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेको थियो । आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–९, मरिनघाटस्थित सुनकोशी नदी किनारमा बस दुर्घटनापछि बेपत्ता भएका एक बालक मृत अवस्थामा फेला परेका छन् । गत माघ २७ गते मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक पुष्पलाल (मन्थली–खुर्कोट) सडक खण्डमा काठमाडौंबाट रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको प्र ३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ बस्ने ८ वर्षीय रोनिश (रोणी) योन्जन हराइरहेका थिए । बालकलाई खोजतलासका लागि प्रहरी चौकी रामेछापडाँडाबाट प्रहरी सहायक निरीक्षक नन्दलाल साहको कमाण्डमा दुई जना प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त टोली परिचालन गरिएको थियो । खोजतलास गर्दै जाँदा बुधबार बिहान ४ बजेर ३० मिनेटको समयमा सुनकोशी नदी किनारमा पानीमा तैरिरहेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–९ छाँपडाँडास्थित चौतारा–नवलपुर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ८ बजेको समयमा ऐँसेलुखर्कबाट छापडाँडातर्फ जाँदै गरेको बा प्र २६ प १६७३ नम्बरको मोटरसाइकलले सोही स्थानकी ७२ वर्षीया बुद्धिमाया तामाङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि चौतारा अस्पताल लगिएको थियो । उपचारको क्रममा राती ९ बजेर १७ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मेलम्ची नगरपालिका–६ बस्ने १९ वर्षीय नेत्रबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
