ग्लोब घुमाई–घुमाई हेर्ने हो भने र नेपालको अध्यागमन विभागको अभिलेखको ठेली पल्टाएर हेर्ने हो भने नेपाली नागरिक नपुगेको ठाउँ र देश बिरलै भेट्न सकिएला । यति प्यारो सानो र सुन्दर देश नेपालमा आफ्नो बास बस्ने ठाउँ नभएर नेपाली युवाहरु विदेशीनु परेको पक्कै पनि होइन । आफ्नो देशमा, आफ्नै माटोमा पसिना बगाउने रहर हुँदाहुँदै धेरै पैसा कमाएर नेपालमा बस्ने आफ्ना वृद्ध बा–आमा तथा ती मुना जस्ता नाबालक छोरोछोरीहरुलाई खुशी बाँड्न र उनीहरुको शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बन्न सकियोस् भन्ने आकांक्षा बोकेर नेपाली युवाहरु विदेशको भूमिमा पाइला टेक्न बाध्य छन् । त्यहाँ उनीहरु रात–दिन नभनी पसिना बगाउन विवश छन् ।

आफ्नै देशमा बसेर कुटो, कोदालो गर्न मन त सबैलाई हुन्छ होला । तर के गर्नु अवसर छैन भनुँ भने छ तर चुनौती धेरै छन् । काम गर्ने वातावरण देशमा छैन । देशमा लाखौँ बिगाहा जमिन बाँझो छ तर खेती गर्ने किसानलाई सम्मान छैन अपमान गरिन्छ । खेती गर्न चाहिने बीउ, मल र सिँचाईको सुविधा छ्रैन । उत्पादित बाली बिक्री गर्न उपयुक्त मूल्य लगानीको आधारमा सरकारले तोक्दैन । जुनसुकै बालीको बिक्री वितरणमा बिचौलिया हावी छ । उनीहरुकै मनमौजीले मूल्य तोकिन्छ । कृषक वर्ग सधैँ पिल्सिएको पिल्सिएकै छन् । यस्तो देशमा कसरी नेपाली युवाहरुले परिश्रम गर्न सक्छन् ? मिहिनेतको फल उत्पादन गरेर खुशी हुन सक्छन् ? यो एउटा ठूलो समस्या र चुनौतीको विषय हो जस्तो लाग्छ । तर राज्य संचालन गर्ने पदीय जिम्मेवारीमा रहेकाहरुमा यस विषयमा कुनै योजना, चिन्ता र चासो हुँदैन ।

१७ वर्षमा १५ वटा सरकार बन्ने र बनाउने देश नेपाल भनेर प्रत्येक नेपालीको बोलीमा सुन्न सकिन्छ । यो कुनै दल विशेषलाई नेपालीले स्पष्ट बहुमत नदिएर होइन, दलहरुकै नालायकीपन र अवसरवादी सोच र स्वार्थका कारण नेपालमा यस्तो अवस्था आएको हो भन्न कुनै अप्ठ्यारो मान्नु पर्दैन । ‘सानालाई ऐन र ठूलालाई चैन’ भनेझैँ सरकार संचालनमा बस्नेहरुले राज्य सत्तालाई ठगहरुको र भ्रष्टाचारीहरुको आश्रयस्थल बनाए । राज्य सत्तालाई आफ्नै बाउको बिर्ता सम्झेर नागरिक माथि अन्याय अत्याचार गरिरहे । ३० वर्षे पंचायती शासनलाई सत्तोसराप गर्ने र राजसंस्था विरुद्ध अनर्गल प्रचार गरी संसदबाट निर्णय गरेर राजसंस्था निमूल गर्ने घोषणा गरेका तिनै ठूला दलहरुले पालैपालो शासन गरेको पनि ३६ वर्ष भएछ । यस अवधिमा देशमा कुशासन र भ्रष्टाचारको विकास भए ।

तीन ठूला दलका प्रमुख व्यक्तिहरु पटक–पटक प्रधानमन्त्री भए । तिनका नातागोता र नजिकका व्यक्तिहरु उच्च ओहोदामा पुगे । तिनले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर आफ्ना नातीपुस्तालाई समेत पुग्ने गरी सम्पत्ति आर्जन गरे तर पनि तिनलाई न भ्रष्टाचाराको कसुर लाग्यो न सम्पत्ति शुद्धीकरणम कारबाही नै भयो । यस्ता अनेक पदीय दुरुपयोगका काण्डैकाण्डमा आरोपित हुनुपर्दा पनि आफूले गरेका भ्रष्टाचार लुकाई छिपाई कानुन हातमा लिएर अझै पनि ठाडो शिर गरिरहेका छन् । आज भन्दा ३४ वर्ष अगाडिको निर्वाचनमा जो जुन क्षेत्रबाट पार्टीको उम्मेदवार बनेर विजयी भएको थियो आज २०८२ सालको फागुन २१ गते हुने निर्वाचनमा पनि उही पार्टीको एउटै व्यक्ति उम्मेदवार भई जनता माझ मत माग्दै हिँडिरहेको छ । यो भन्दा अनौठो अभिनय अरु के हुन सक्छ ?

यी र यस्ता अनेक विकृति र विसंगतिका कारण नेपाली जनताका युवा छोराछोरीहरुले २०८२ भाद्र २३ र २४ गते गरेको जेनजी आन्दोलनबाट ४८ घण्टामै सत्ता छोड्न बाध्य गराए र प्रधानमन्त्री र मन्त्रीहरु हेलिकप्टर चढेर नेपाली सेनाको सुरक्षामा गोप्य ठाउँमा भागेर ज्यान बचाउन पुगे । यो सबै गतिविधि उनीहरुकै दम्भ र घमण्डका कारण उत्पन्न हुन पुग्यो । देशको यस्तो अवस्थाको कारण आज कुनैपनि नेपालीका सन्तानहरु आफ्नो देशमा पसिना बगाउन छोडेर विभिन्न देशहरुमा कामको सिलसिलामा तथा अध्ययनका लागि आफ्नो देश र आफ्नो परिवार छोड्न बाध्य भएका छन् । कोही पैसा कमाउन र कामको खोजी गर्न खाडी मुलुकमा गएर पसिना बगाउन बाध्य छन् भने कोही अध्ययनका लागि (उच्च शिक्षा) युरोप र अमेरिका पुग्ने पनि कम छैनन् । नेपाली युवाहरु आफ्नो देशमा बसेर उच्च शिक्षा हासिल गर्न र रोजगारीको प्रारम्भिक अवसर हासिल गरी नेपालमै बस्न पटक्कै रुचाउँदैनन् ।

अध्ययनका लागि युरोप–अमेरिका नेपालमा मेडिकल, इन्जिनियरिङ तथा अन्य प्राविधिक विषयमा अध्ययन गर्न धेरै खर्च लाग्ने र आफ्नो देशमा रोजगारीको सुनिश्चितता समेत नहुने देखेर १२ कक्षा सफल हुनासाथ युरोप र अमेरिका जान तत्पर भइहाल्ने छोराछोरीका कारण कतिपय अभिभावक चिन्तामा छन् भने कतिपय अभिभावक आफ्ना छोराछोरीलाई अष्ट्रेलिया र अमेरिका पठाउन पाउँदा हर्षित र खुशी हुन्छन् । ती मुलुकमा अध्ययन गर्न जान पनि त्यति सहज कहाँ छ र ? ती मुलुकको नीति–नियम र कानुनको परिधि भित्र रहेर अनेक झन्झटिलो कागजी प्रक्रिया पु¥याउनु पर्ने त हुन्छ नै डलरमा लाग्ने नेपाली मुद्रा बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । त्यसका लागि पचासौँ लाख नेपाली रुपैयाँ र अन्य अचल सम्पत्ति बैंकमा धरौटी राख्नुपर्छ । आमाबाबुको मासिक आम्दानी र आर्थिक कारोबार पनि मजबुत हुनुपर्छ । सामान्य भौतिक र अचल सम्पत्ति भएका परिवारका लागि विदेश जान पनि कठिन छ । तैपनि कोही विदेशमा बसिरहेकाहरुको डिपेन्डेन्ट भिसामा त कोही डिभि परेर अमेरिका र युरोप जानेको संख्या हरेक वर्ष बढ्दो छ ।

महिनामा लाखौँ नेपाली जनशक्ति बाहिरिन बाध्य छन् । प्रत्येक घरबाट एउटा वा दुई छोरा–छोरी, ज्वाँई–छोरी, छोरा–बुहारी विदेशमा दुःख झेलेर पनि सुखको हाँसो हाँसिरहेका छन् । हामी अभिभावक पनि युरोपका देशमा पिआर भएको केटोलाई छोरी दिन पाउँदा र पिआर भएकी छोरीलाई विदेशमै बस्ने केटासँग सम्बन्ध जोड्न पाउँदा खुशी र सुखी ठान्छौँ । नेपालमा दुईजना बुढाबुढी मात्र बेसाहारा जिन्दगी बाँच्न विवश छौँ । विदेश जाँदैमा रुखमा पैसा टिप्न पाइने त होइन ! मरिमेटेर दिनरात श्रम नगरी अध्ययन गर्न आर्थिक स्रोत नजुटाई हुँदैन । एकातिर पढाई (अध्ययन) अर्कोतिर काम गर्नुपर्ने समय निकाल्न सुत्ने र आराम गर्ने समय कटौती गर्नुपर्ने हुन्छ । अर्कोतिर हरेक वर्ष अध्ययन गर्ने कलेजमा लाखौँ डलर जम्मा गर्नुपर्छ भने ऋण काडेर र जमिन बेचेर आफूलाई पठाउने मातापितालाई पनि वर्षमा केही रकम पठाउनुपर्ने अर्को दायित्व र जिम्मेवारी रहन्छ । यसरी विदेशी भूमिमा बस्ने व्यक्ति त्यो मुलुकको जीवनभर दास बन्नुपर्ने हुन्छ । उनीहरुले कहिलेसम्म विदेशमा पसिना र आँशु बगाउँनुपर्ने हो ? यस्तो बिडम्बना कहिलेसम्म ? (अस्तु)