हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजना बुधबारदेखि पालिकास्तरीय दोस्रो रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता बिहीबारसम्म चल्नेछ ।
बुधबार नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिका अध्यक्ष मनोज लामिछाने तथा संगठनका केन्द्रीय उपमहासचिव श्रीराम दहालको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको छ । बुधबार प्रतियोगिताको पहिलो दिन ११ वटा खेल सम्पन्न भएको खेल संयोजक राम महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगिताका बाँकी खेलहरु आज बिहीबार हुँदैछ । प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका अन्य दुई टोलीले ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विधागत उत्कृष्ट खेलाडीको लागि पनि ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता थाहा–३ स्थित जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा हुँदैछ ।
