छतिवन (बकैया) : हरेक वर्ष झै यसवर्ष पनि मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला साहित्य महोत्सव २०८२ सम्पन्न भएको छ । ३२४ औं साहित्य श्रृंखला एवम् ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित दुई दिने साहित्य महोत्सवमा विभिन्न विधाका ११ जना सम्मानित भएका छन् ।
बकैया–४, स्थित महेन्द्र माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को सहकार्य मंगलबार र बुधबार महोत्सव भएको थियो । महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन तथा नवसर्जक रचना वाचनलगायतका कार्यक्रम भएको थियो ।
संस्थाले प्रत्येक वर्षझै यस वर्ष पनि पत्रकारिताका माध्यमबाट संस्थाको उन्नयनमा सहयोग गरेबापत ११ हजार १११ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट यसवर्ष काठमाडौंमा कार्यक्षेत्र बानाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका मकवानपुरका दीपक अधिकारीलाई प्रदान गरेको छ ।
यस्तै, १५ हजार ५५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ मकवानपुरका निमेष निखिललाई प्रदान गरेको छ भने युवा साहित्यकारलाई प्रदान गरिँदै आएको नगद ८ हजार पाँच सय राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ नेपालगञ्जकी ऋचा लुइटेललाई प्रदान गरिएको छ । यसअघि संगीता थापालाई प्रदान गरिने भनिएको मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिंदै आएको नगद ७ हजार ७७७ राशिको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ एसआर मन्जरी ओलीलाई प्रदान गरिएको संस्थाका सचिव निलहरि ढुङ्गेलले जानकारी दिनुभयो ।
७ हजार ७७७ रुपैयाँको सञ्जीवनी बुटी साहित्य सम्मान–२०८२ मकवानपुरका अर्पण पराजुलीलाई प्रदान गरिएको छ भने ५ हजार ५५५ रुपैयाँ राशिको बकैयाका नवप्रतिभाको सम्मान झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ यसवर्ष बकैया–३ स्थित बुद्ध मावि हात्तीसुढेकी मोनिका नेगीलाई प्रदान गरिएको हो । मकवानपुरमा रहेर कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गरिंदै आएको ७ हजार ७७७ सहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ यस वर्ष हेटौँडाका सूर्य सन्यासी र छन्द कवितामा उल्लेख्य योगदान गरेवापत नगद ७ हजार ७७७ राशिसहितको ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२ भैरहवाकी सिर्जना खनाललाई प्रदान गरिएको हो । यसै वर्ष स्थापना गरिएको ११ हजार १११ राशिको कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान–२०८२ बाट साहित्यकार तथा लोकगायक बझाडका नन्दकृष्ण जोशी सम्मानित भएका छन् ।
झरना साहित्यिक परिवारले आयोजना गरेको चित्रकला प्रतियोगितामा महेन्द्र माविका मिखायल थोकर, बुद्ध माविकी रिसा दोङ र बुद्ध माविकै प्रसिद्ध राई उत्कृष्ट ३ मा पर्न सफल भए । यस्तै कविता प्रतियोगितामा बुद्ध माविकी शान्ति नेगी, महेन्द्र माविकी रितु विक र महेन्द्र माविकै इन्द्र कुमारी स्याङ्वो उत्कृष्ट ३ मा पर्न सफल भए ।
संस्थाकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक रमेशमोहन अधिकारी, पूर्वअध्यक्ष उद्धव सापकोटा, दीपक गौतम, निवर्तमान अध्यक्ष विश्वनाथ सञ्जेल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको पनि आतिथ्य रहेको थियो ।










