हेटौँडा : कान्तिलोकपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको गाडीमा ललितपुर प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । तरकारी ढुुवानी गर्ने ना ३ च ४०५ नम्बरको हात्ती गाडी धादिङ जिल्लाबाट कान्तिलोकपथ हुँदै हेटौँडातर्फ आउँदै गर्दा बुधबार बिहान ८ बजेर ४० मिनेटको समयमा ललितपुर प्रहरीले ललितपुरको बागमती गाउँपालिका–३, छपेलीमा सुरक्षाजाँच गर्दा प्रहरीले १ सय ५३ केजी गाँजा बरामद गरेको जनाएको छ ।
ललितपुर प्रहरीका अनुसार प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले सुरक्षाजाँच गर्दा फल्स बटम बनाएको देखेर सोधपुछ गर्दा चालक एक्कासी भागेका थिए । जंगलतर्फ भागेका चालकलाई प्रहरी टोलीले १२ किलोमिटर टाढा घेराबन्दी गरी बागमती–२, बगुवाकोबाट पक्राउ गरेको जनाएको छ । चालक रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ घर भई हाल हेटौँडा बस्दै आएका २८ वर्षीय नगेन्द्र श्रेष्ठ भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।










