हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले माघ महिनाको मासिक प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिएको छ । प्रहरीका अनुसार माघ महिनामा प्रदेशभर कुल ३ सय ८८ वटा अपराधका मुद्दा दर्ता भएका छन्, जसमा जघन्य तथा गम्भीर अपराधका २७१ वटा, आर्थिक अपराधका ६५ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २१ वटा र अन्य ३१ वटा रहेका छन् । यस अवधिमा विभिन्न मुद्दाका २७५ जना प्रतिवादी र विभिन्न समयदेखि फरार रहँदै आएका २ सय २६ जना गरी कुल ५०१ जनालाई पक्राउ गरिएको छ ।
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले माघ महिनामा ठूलो सफलता हात पारेको बताइएको छ । प्रहरीले २२१ किलो २३७ ग्राम गाँजा, १२१ किलो ४६६ ग्राम चरेश, ४३ ग्राम ५५१ मिलिग्राम खैरो हिरोइन, ५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल, ७४६ ट्याबलेट नाईट्रोजेपाम र विभिन्न लागूऔषध बरामद गरेको छ । लागूऔषध कारोबारमा संलग्न ८३ जनालाई पक्राउ गरी ५८ वटा मुद्दा दर्ता गरिएको छ । अवैध हातहतियारतर्फ प्रहरीले १ थान एसएलआर, ३ नाल सानो हतियार, २ नाल भरुवा बन्दुक र छर्राहरू बरामद गरेको जानकारी दिएको छ ।
माघ महिनामा सवारी दुर्घटनाको अवस्था पनि चुनौतीपूर्ण देखिएको छ । १५७ वटा सवारी दुर्घटनामा परी ३६ जनाले ज्यान गुमाएका छन् भने २८० जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ५२ वटा सवारी साधनलाई कारबाही गर्दा ५८ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, भन्सार छली गरी ल्याइएका १ करोड ५० लाख ७० हजार ९ सय ७२ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने प्राकृतिक सम्पदा दोहनमा संलग्न १०४ सवारी साधनलाई कारबाही गरी १७ लाख ७७ हजार २ सय ३५ रुपैयाँ राजश्व संकलन गरिएको छ ।
सामाजिक समस्या र उजुरी व्यवस्थापनतर्फ माघ महिनामा १८५ जना हराएकोमा ११९ जना फेला परेका छन् भने ५६ जनाको खोजी कार्य जारी छ । घरेलु हिंसाका ८६ निवेदनमध्ये ४६ वटामा मिलापत्र गराइएको छ । प्रदेश प्रहरी कार्यालयमा सिधै प्राप्त ४५२ उजुरीमध्ये ३४९ वटा र जिल्ला प्रशासन कार्यालयमार्फत आएका ९३ मध्ये ५२ वटा उजुरी फछ्र्यौट भएका छन् । यसै अवधिमा आत्महत्याका ६४ वटा र आगलागीका १४ वटा घटना भएका छन् । प्रहरीले समुदायमा सचेतना फैलाउन लागूऔषध, ट्राफिक नियम र साइबर अपराधलगायतका विषयमा ६ सय ७२ वटा जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको विवरणमा उल्लेख छ ।










