सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा एकैदिन ९ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा सोमबार ९ मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बजार नजिक सुनकोशी नदीको किनारामा एक बालक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा गत माघ २७ गते बिहान १० बजेर ४० मिनेटको समयमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक बस दुर्घटनामा बेपत्ता भएका मन्थली–२ पिप्लेका ९ वर्षीय कृचन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बेपत्ता भएका बालक सोमबार बिहान ७ बजेर ३० मिनेटको समयमा सुनकोशी नदीको किनारामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ डल्लेपोखरीस्थित निर्माण कम्पनीमा कार्यरत एक कामदार सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धसपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–३ धुस्कुनका ५४ वर्षीय रामचन्द्र भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । रामचन्द्र सोमबार बिहान ६ बजेको पाङताङ–१३२ केभी सबस्टेशन क्षेत्रभित्र कामदारहरू बस्ने कोठामासमयमा सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनि जुगल–४ डल्लेपोखरीमा रहेको बज्रपानी एण्ड ठोकर कन्स्ट्रक्सनमा विगत ६ महिनादेखि लेबर काम गर्दै आएका थिए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ रतनकोटमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु लिसंखुपाखर–१ डाँसेकी ४१ वर्षीया सानु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो २ बजेर ४० मिनेटको समयमा घाँस काट्ने क्रममा तामाङ भिरबाट ४ सय मिटर तल खसेर गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शंखुपाटीस्थित मानव कल्याण समाज सेवा घरमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएका ९६ वर्षीय रामबहादुर मानव रहेको प्रहरीले जानकारी दिएको छ । रामबहादुर २०७८ सालदेखि सो संस्थामा बस्दै आएका थिए । उनको सोमबार साँझ ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका धुलिखेल अस्पताल लगिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान १० बजेर ३० मिनेटको समयमा हाल नामथर नखुलेकी करिब २६ वर्षीया सीता थापा भनेर चिनिने महिला मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार राती १० बजेको समयमा बा–प्र–०६–००१ प ४३३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुर–५ नारायणपुरका ३३ वर्षीय शम्भु पोख्रेल गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा सोमबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर–१५ सितल चोकमा कारको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । गत माघ ११ गते ३ बजेर ३० मिनेटको समयमा बा १७ च १७९६ नम्बरको कारले ठक्कर दिँदा ६ वर्षीया आयुषा क्षेत्री गम्भिर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि मेडिसिटी अस्पताल काठमाण्डौ लगिएको थियो । उपचारको क्रममा सोमबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा उपचारका क्रममा मृत्यु भएको प्रह्रीले जानकारी दिएको छ ।

चितवनको कालिका नगरपालिका–७ बेलचौर भित्री सडक खण्डमा अटोले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेर ३० मिनेटको समयमा क्लव चोकबाट जुटपानीतर्फ आउँदै गरेको बा.प्र.०६–००३ प ८०१३ नम्बरको स्कुटरलाई जुटपानीबाट क्लव चोकतर्फ आउँदै गरेको बा.प्र.०३–००१ स ०४६९ नम्बरको अटोले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । अटोको ठक्करबाट स्कुटर चालक भरतपुर–१२ का ३८ वर्षीय प्रकाश मल्ल ठकुरी गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा साँझ ६ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । अटो चालक भरतपुर–१५ क्ँ ४६ वर्षीय ईन्द्र प्रसाद लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राती १० बजेको समयमा बा–प्र–०६–००१ प ४३३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुर–१५ का ३३ वर्षीय शम्भु पोख्रेल गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा सोमबार दिउँसो १ बजेर ५४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।