हेटौँडा : स्वतन्त्र पत्रकार संघ नेपालको अधिवेवशन आगामी चैत २० र २१ गते पूर्वी नवलपरासी जिल्लाको गैँडाकोटमा हुने भएको छ । यसअघि फागुन २४ गतेका लागि तय गरिएको अधिवेशन आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण नयाँ मिति निर्धारण गरिएको हो । शनिबार गैँडाकोटस्थित संघको केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले अधिवेशनको नयाँ मिति तय गरेको हो ।
संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न, गराउन जिल्ला समितिलाई फागुन मसान्तसम्ममा अधिवेशन प्रतिनिधिको विवरण पठाउन परिपत्र गर्ने निर्णय भएको उपमहासचिव सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ । २८ वटा जिल्लामा शाखा विस्तार भएको स्वतन्त्र पत्रकार संघ नेपालले हालै बागलुङ र सुर्खेत जिल्लामा पनि शाखा विस्तार गरेको छ । अधिवेशनको अवसरमा स्वतन्त्र पत्रकार संघले ‘स्वतन्त्र सन्देश’ स्मारिका पनि विमोचन गर्ने जनाएको छ ।
नेपाल पत्रकार महासंघमा राजनीतिक दल निकट पत्रकार संगठनहरुको पेशागत भन्दा राजनीतिक स्वार्थप्रेरित भूमिका देखिएपछि २०६८ सालको नेपाल पत्रकार महासंघको अधिवेशनका क्रममा स्वतन्त्र पत्रकार संघ नेपालको परिकल्पना गरिएको हो । पछिल्लो समय स्वतन्त्र पत्रकारिताको महत्व अझ बढ्दै गएको उल्लेख गर्नुहुँदै अध्यक्ष बास्तोलाले संघको सक्रियताले विश्वसनीय र स्वतन्त्र पत्रकारिताको विकासमा थप काम गर्ने प्रेरणा नयाँ पुस्तामा विकसित गर्दै जानु आवश्यक रहेको बताउनुभएको छ ।











