विद्यालय तहको वार्षिक परीक्षाहरु नजिकिँदै छन् । कक्षा ९ सम्मका परीक्षा चैतको दोस्रो साताबाट सुरु हुनेछ भने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेबाट सुरु हुने भएको छ । कक्षा १२ को परीक्षा पनि वैशाख दोस्रो साताबाट हुने सम्भावना रहेको छ । नेपालमा एक दशक अघिसम्म कक्षा १० को वार्षिक परीक्षा अर्थात् एसएलसीलाई विद्यालय तहको अन्तिम परीक्षाको रुपमा लिइन्थ्यो । विसं १९९० सालबाट सुरु भएको एसएलसी परीक्षाको चासो र चर्चा निकै हुन्थ्यो । उच्च श्रेणी हासिल गर्नुमात्र नभई एसएलसी उत्तीर्ण हुनुलाई पनि ठूलो शैक्षिक सफलता मानिन्थ्यो । २०७२ सालमा नयाँ संविधान जारी भएपछि विद्यालय तहको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइयो र कक्षा १२ सम्म विद्यालय तहको शिक्षा कायम भयो । कक्षा १२ को परीक्षालाई एसएलसीको रुपमा राष्ट्रियरुपमा सञ्चालन गर्ने, कक्षा १० को परीक्षालाई प्रदेशस्तरमा सञ्चालन र व्यवस्थापन गर्ने अनि कक्षा ८ को आधारभूत तहको परीक्षालाई स्थानीय तहले सञ्चालन र व्यवस्थापन गर्ने भनिए पनि कक्षा १० को परीक्षा राष्ट्रियरुपमा सञ्चालन हुँदै आएको छ ।

यस वर्षको एसईई सुरु हुन डेढ महिना बाँकी छ । एसईईलाई कक्षा ११ प्रवेश गर्ने एउटा आधारमात्र मानिनुपर्ने भए पनि यसलाई आज पनि विगतको एसएलसीजस्तै ‘आइरन गेट’कै रुपमा महत्व दिने गरिएको छ । विद्यार्थी, अभिभावक, विद्यालयमात्र नभई अहिले स्थानीय सरकारसमेत एसईईको नतिजा सुधार गर्न निकै सक्रिय बन्ने गरेका छन् । एसईई दिने विद्यार्थीलाई शैक्षिक सत्रको सुरुदेखि नै अतिरिक्त कक्षाको व्यवस्थामात्रले नपुगेर केहि विद्यालयहरुले बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराइरहेका छन् । मकवानपुरको बकैया गाउँपालिकाका तीनवटा विद्यालयले बन्द प्रशिक्षणमै राखेर पठनपाठन गरेका छन् भने अन्य विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरेका छन् । राक्सिराङ गाउँपालिका र भीमफेदी गाउँपालिकाका ४–४ वटा विद्यालयले आवासीय सुविधासहित पठनपाठन गराइरहेको छ । इन्द्रसरोवर गाउँपालिकाका २ वटा र मकवानपुरगढी गाउँपालिकाका ९ वटा विद्यालयले समेत बन्द प्रशिक्षणमा राखेर कक्षा सञ्चालन गरिरहेको छ ।

गत वर्षको एसईईमा जिल्लाका विभिन्न पालिकाका केही विद्यालयको नतिजा कमजोरमात्र नभई शून्य नै रहेकाले पनि पालिकाहरुले एसईईको नतिजा सुधार गर्न विशेष ध्यान दिएका छन् । पालिका तथा सम्बन्धित वडाहरुले आवासीय सुविधा तथा अतिरिक्त कक्षाका लागि विद्यालयहरुलाई आर्थिक सहयोगसमेत गरेका छन् । यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार २ सय जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । गत वर्ष मकवानपुरबाट नियमिततर्फ ५ हजार ८ सय ८४ जना विद्यार्थी सहभागी भएकामा २ हजार ७ सय ५९ जनामात्र उत्तीर्ण भएका थिए । एसईईको कमजोर नतिजा सुधारका लागि प्रयत्न हुनु सकारात्मक छ । पछिल्लो समय मोबाइल तथा इन्टरनेटको सहज पहुँच र प्रभावका कारण विद्यार्थीहरु घरमा पढ्न नचाहने अवस्थामा विद्यालयहरुले आवासीय व्यवस्थासहित पठनपाठन गर्नुपर्ने बाध्यताजस्तै भए पनि कक्षा १० लाई मात्र यस्तो गरिनुलाई अर्थपूर्णरुपमा हेर्नु आवश्यक छ ।

विद्यार्थीले हरेक कक्षा र तहका लागि निर्धारित सिकाइ उपलब्धि हासिल गर्नु आवश्यक छ । एसईईलाई ‘हाउगुजी’ बनाएर बाल मनोविज्ञानको समेत ख्याल नगरी विद्यार्थीलाई १८ घण्टासम्म बन्द प्रशिक्षणको नाममा पढाउनु भनेको एक प्रकारको यातनाजस्तै हो । यस्तो परिपाटीले केही विद्यालय तथा विद्यार्थीको नतिजा सुधार होला तर किन एसईईको मात्रै नतिजा सुधारको चिन्ता र चासो भन्ने गम्भीर सवाल उत्पन्न गरेको छ । पालिका, विद्यालय, शिक्षक, अभिभावक सबैले सबै कक्षाको नतिजा सुधारका लागि उत्तिकै ध्यान किन नदिएको ? तल्लो कक्षादेखि नै नतिजा सुधार हुँदै जाने हो भने एसईईको नतिजा आफैँ सुधार हुँदैन र ? एसईईमा राम्रो ग्रेड ल्याउँदैमा तल्ला कक्षामा सिक्नुपर्ने ज्ञान, सिप विद्यार्थीले सिकेको हुन्छ त ? यस्ता प्रश्नको जवाफ खोज्नु आवश्यक छ । कक्षा १० भन्दा तल्ला कक्षा र माथिका कक्षाको नतिजा सुधार गर्नु नपर्ने अनि एसईईको नतिजामात्रै सुधारेर के र कस्तो शैक्षिक उपलब्धि हासिल गर्न खोजेको होला ? एसईईलाई बढी महत्व दिएर अन्य कक्षालाई बेवास्ता गर्नु न्यायसंगत हुँदैन ।