हेटौँडा : आईतबार सुमोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, लामसातीमा सुमोको ठक्करले एक बालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आईतबार अपरान्ह १२ बजेको समयमा मध्यपहाडी लोकमार्ग सडकखण्डमा सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४६२३ नम्बरको सुमोले ठक्कर दिँदा पैदलयात्री गोलन्जोर–२ का ९ वर्षीय अषिक बयलकोटी घाइते भएका थिए । घाइते बयलकोटीलाई आईतबार दिउँसो ३ बजेको समयमा गोलन्जोर आधारभूत अस्पतालका डाक्टरले मृत्त घोषणा गरेको हो । सुमो र सुमो चालक नेचसल्यान गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपाल भुजेल प्रहरीको नियन्त्रणमा रहेको छ ।











