हेटौँडा : हेटौँडा–५ पिप्ले स्थित कान्तिलोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँद एक जनाको मृत्यु भएको छ । शुक्रबार राती ९ बजेर ५० मिनेटको समयमा सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्ले तर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–५ पिप्ले ढुंगेधारा बस्ने ३५ वर्षीय सुवास थिङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा राति १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।