हेटौँडा : बागमती प्रदेशको मकवानपुर जिल्लाको ३ वटा पालिकामा सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । बिहीबार बकैया, मनहरी र हेटौँडामा सवारी दुर्घटनामा ३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बकैया गाउँपालिका–५ राजदमार स्थित फास्ट ट्र्याक भित्री सडक खण्डमा स्कुटर दुर्घटना हुँदा चालक घाइते भएका छन् । बिहीबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा पाउसबाट जुरेलीतर्फ आउँदै गरेको ना १५ प ६८२९ नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक ४२ वर्षीय सुकुबहादुर स्याङतान घाइते भएका छन् । उनको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरस्थित धरान–चतरा सडक खण्डमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन् । बिहीबार साँझ ५ बजेर ३० मिनेटको समयमा हेटौँडाबाट एक्लेखेततर्फ जाँदै गरेको ना ५ ख ७७७८ नम्बरको बस सोही स्थानमा रोकी यात्रु झार्ने क्रममा पछाडिबाट सोही दिशातर्फ आउँदै गरेको ना ४२ प ४४२ नम्बरको मोटरसाइकल बसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बकैया गाउँपालिका–४ का ४५ वर्षीय नारायण दाहाल घाइते भएका छन् । उनको टाउको, दाहिने हात र छातीमा भित्री चोट लागेको तथा अवस्था मध्यम रहेको छ । उनको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

मनहरी गाउँपालिका–८ देबकोट स्थित पूर्व–पश्चिम सडक खण्डमा अटो पल्टिँदा एक जना घाइते भएका छन् । बिहीबार बिहान ७ बजेको समयमा चिसापानीबाट राक्सिराङतर्फ जाँदै गरेको ना २ ह २६६९ नम्बरको अटो तीव्रगतिका कारण अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार राक्सिराङ गाउँपालिका–३ झिल्किनीका ५३ वर्षीय मङ्गल बहादुर गेवा घाइते भएका छन् । घाइतेलाई अटो चालक मनहरी गाउँपालिका–७ निवासी ३५ वर्षीय सन्तकुमार मोक्तानले उपचारका लागि चितवनस्थित अलाइएभ हस्पिटल लगेको प्रहरीलाई दिएका छन् ।