Home मुख्य समाचार बालज्योति माविलाई १३ लाखभन्दा बढी सहयोग प्राप्त

बालज्योति माविलाई १३ लाखभन्दा बढी सहयोग प्राप्त

स्वर्ण महोत्सवको अवसरमा आयोजित खेलकुदमा विजयी खेलाडीलाई पुरस्कृत गरिँदै ।

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको अवसरमा १३ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त गरेको छ । स्वर्ण जयन्तीको अवसरमा मंगलबारसम्म विद्यालयमा १३ लाख ६५ हजार रुपैयाँ सहयोग प्राप्त भएको प्रधानाध्यापक भरत अर्यालले जानकारी दिनुभयो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयको कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीद्वय निमा थिङ र अभियान थिङले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । विद्यालयलाई सहयोग गर्नेहरूमा बागमती प्रदेशकी मुख्य न्यायाधीवक्ता एवम् पूर्वविद्यार्थी अप्सरा बस्नेतले १० हजार १ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक इन्जिनियर प्रितमराज विष्टले ६० हजार ७५ रुपैयाँ, जीवन न्यौपाने र राजन न्यौपानेले संयुक्त रूपमा ५५ हजार ५ सय ५५ रुपैयाँ तथा गोविन्दप्रसाद दुलाल र झुमाकुमारी दुलालले ५२ हजार ४ सय ७५ रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्व सहायकप्रधानाध्यापक वरदराज भारद्वाज वाग्ले र श्रीमती कावेरी वाग्लेले ४१ हजार ९ सय ४६ रुपैयाँ, जानुका पराजुली अधिकारीले ३० हजार रुपैयाँ, अञ्जु लामा र अनिश सापकोटाले जनही २० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । यस्तै, बालज्योति योग साधना केन्द्रले १८ हजार ८५ रुपैयाँ सहयोग गरेको छ । स्वर्ण महोत्सवमा १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र सहयोग आउने क्रम अझै जारी रहेको प्रधानाध्यापक अर्यालको भनाइ छ । ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूको नाम विद्यालयको शिलालेखमा लेखिने उहाँले जानकारी दिनुभयो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले मंगलबार अभिभावक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ‘बालबालिकाप्रति अभिभावकको भूमिका’ विषयमा मामाघर नेपालका सञ्चालक अर्पण पराजुली र ब्रह्मकुमारी राजसेवा सेवा केन्द्रका विजयराज सिग्देलले अभिमुखीकरण गराउनुभएको थियो । विविध कार्यक्रमसहित विद्यालयले माघ १९ गतेदेखि मनाउन सुरु गरेको स्वर्ण जयन्तीको आज बुधबार समापन कार्यक्रम हुँदैछ ।

Exit mobile version