Home मुख्य समाचार हाट्टहुट्ट वर्ग र संस्थागत विकासका चुनौतीहरु

हाट्टहुट्ट वर्ग र संस्थागत विकासका चुनौतीहरु

जुनसुकै संघसंस्थाको सफलताको मेरुदण्ड त्यहाँ कार्यरत जनशक्ति हुन् । कार्यशैली, आनिबानी र भूमिकाको दृष्टिले संघसंस्थाहरुमा मुख्यतः तीन प्रकारका जनशक्तिहरु कार्यरत रहेको पाइन्छ ।

१. पहिलो प्रकारका जनशक्ति: अत्यन्तै जिम्मेवार, संस्कारयुक्त, नियम कानुनको पालना गर्ने, जवाफदेहिता वहंन गर्ने, मानवतावादी र नतिजा उन्मुख गतिविधि गर्ने किसिमका हुन्छन् । यो वर्ग व्यक्तिगत फाइदा भन्दा धेरै संस्थागत समुन्नति र सामूहिक फाइदाका लागि चिन्तनशील हुन्छन् । संस्थागत उपलब्धिलाई आफ्नो प्रतिष्ठाको विषय सम्झिन्छन् । यस्ता वर्गका जनशक्ति कम बोल्छन् तर संस्थाको हकहित र समृद्धिका लागि सदैव प्रयत्नशील हुन्छन् । यो वर्गलाई कर्मयोगी वर्ग भन्न सकिन्छ ।

२. दोस्रो प्रकारका जनशक्ति: मन लगाएर काम नगर्ने, अरुको चियोचर्चो गर्ने र कमजोरी मात्र खोजिरहने, जहिले पनि, जेमा पनि मैले के पाउँछु भन्ने भावना राख्ने र लाए अह्राएको काम पनि धेरै पटक ताकेता गरेपछि मात्रै बल्ल बल्ल पूरा गर्ने स्वभावका हुन्छन् । कुनै क्षेत्रको थोरै कुरा थाहा पाउने बित्तिकै आफुलाई विज्ञ झैँ सम्झने, हरेक कुरामा अघि बढेर बोली हाल्ने, ठुलोठुलो स्वरमा बोलेर अरुलाई नियन्त्रणमा राख्न खोज्ने, हरेक कुरामा प्रतिक्रिया जनाइहाल्ने र हाकिमहरुको अगाडि भने चाकडी चाप्लुसी गर्न यो वर्ग खप्पिस हुन्छ । काम, जिम्मेवारी, उपलब्धि नतिजा भन्दा पनि तत्कालिन रमाइलो र व्यक्तिगत फाइदामा नै यो वर्ग रमाइरहेको हुन्छ । हाकिम र सहकर्मीहरुलाई पदीय सम्बोधन भन्दा नि नाता सम्बन्धमूलक शब्द जोडेर कुराकानी गर्न र कोसेली बोकेर खुसी पार्न यो वर्ग खप्पिस हुन्छ । सकेसम्म ठुलो बोलेर जित्न खोज्ने यो वर्ग अल्पज्ञानको कारण अरुले कडा प्रतिवाद गरे भने चैं तुरुन्तै गलिहाल्ने प्रकृतिको हुन्छ । स्वर मात्रै ठुलो हुने यो वर्गलाई अरुले आफुलाई रमिताको पात्र बनाइरहेको महसुस नै हुँदैन । यो वर्गलाई हाट्टहुट्ट वर्ग भन्न सकिन्छ ।

३. तेस्रो प्रकारको जनशक्ति: यो वर्ग निष्क्रिय बस्ने, कसैको अस्तित्व नस्विकार्ने, नेतृत्वलाई नमान्ने र आफू नेतृत्व लिन पनि नचाहने, हरेक कुरामा असहमति जनाउने, सानोतिनो जिम्मेवारी पनि सहजै नस्विकार्ने स्वभावको हुन्छ । प्रायः कार्यालयमा अनुपस्थित हुने, उपस्थित हुँदा पनि संस्थागत विकासमा कुनै चासो नै नदिने यो वर्गको मुख्य दाउ दोस्रो अर्थात हाट्टहुट्ट वर्गलाई आफू जस्तै बनाउने हुन्छ । अवसरवादी चरित्रको दोस्रो वर्गलाई आफुतिर आकर्षित गर्न सके आफ्नो संख्या बढ्ने र बसीबसी खान पाइने आश बोकेको तेस्रो वर्गको कारण संस्था जहिले पनि अस्थिरताको जंजालमा फसिरहेको हुन्छ । जोसँग संगत ग¥यो सुरुमा एकदम असल चरित्र देखाउने र केही समयपछि विस्तारै–विस्तारै उसैको खेदो खन्ने र आफू ठुलो बन्न खोज्ने यो वर्ग आफू मिहिनेत गरेर प्रगति गर्ने होइन कि अरुको प्रगतिलाई रोक्न खोज्ने प्रवृत्तिको हुन्छ । यो वर्ग अरुको चरित्रलाई नकारात्मक रुपमा देखाउनका लागि विभिन्न प्रयत्नहरु गरिरहेको हुन्छ । सुरुमा एकदमै असल जस्तो लाग्ने तर विस्तारै विस्तारै जो नजिक छ उसैलाई ध्वस्त बनाउन सुरु गरिहाल्ने यो वर्गलाई खरानी वर्ग भन्न सकिन्छ ।

जब तेस्रो वर्ग (खरानी वर्ग) को चहलपहल बढ्छ दोस्रो (हाट्टहुट्ट वर्ग) को हिम्मत बढ्छ । आफुलाई विज्ञ सम्झने अनि व्यक्तिगत फाइदा खोज्ने मनोविज्ञानको कारण हाट्टहुट्ट वर्ग उत्तेजित बन्न पुग्छ र जे मन लाग्यो त्यही गर्न थाल्छ । यो अवस्थामा पहिलो (कर्मयोगी) वर्ग निरास हुन्छ अनि कि त संस्था छोडेर जान्छ कि त धमिलिँदो संस्थागत वातावरणमा अपमानित भएको महसुस गर्दै जसोतसो ड्युटी मात्र पूरा गर्ने र बाँकी कुनै पनि रचनात्मक काम नगरी बस्न थाल्छ । यस्तो अवस्थामा संस्थाले दैनिक गतिविधि संचालन गर्न असहज महसुस गर्छ भने कुनै रचनात्मक कामहरु गर्न पनि सक्दैन र प्रतिस्पर्धात्मक क्षमता समेत कम्जोर हुँदै जान्छ र केही समय पश्चात् संस्था ध्वस्त नै हुन्छ ।

हरेक संस्थाको परिकल्पना पहिलो वर्गको जस्तै कर्मयोगी जनशक्ति प्राप्त गर्ने हुन्छ तर सुरुमै को कस्तो छ चिन्न नसकिने कारण फरक–फरक जनशक्ति संस्थामा आइपुग्छन् । आफैँले भर्ना गरेको जनशक्तिको दूषित मनोविज्ञान र व्यवहारको कारण दिनहुँ संस्था अधोगतितिर लम्कँदा व्यवस्थापन पक्ष आफैं पनि ठूलो तनावमा हुन्छ । जता पनि नाच्न खोज्ने हाट्टहुट्ट वर्ग संस्थाका लागि सबैभन्दा खतरापूर्ण हुन्छ । जता फाइदा देख्छ त्यतै लम्किने यो वर्ग सशक्तीकरणको बदला नियन्त्रणको भावनाबाट निर्देशित हुन्छ । हाट्टहुट्ट वर्गले आफुलाई कहिल्यै कुनै कुरामा सुधार्नु पर्ने महसुस नै गर्दैन । जब तेसो वर्गले इशारा दिन्छ, दोस्रो वर्ग नाच्न थाली हाल्छ । कुनै पनि संघसंस्थाले बेलैमा अफ्नो जनशक्तिको वर्गीकरण गरेर कर्मयोगीलाई प्रोत्साहन, हाट्टहुट्टलाई नियन्त्रण र खरानी वर्गलाई निष्कासन गर्न सकेमा मात्रै संस्थाको प्रगतिमूलक दीर्घजीवन हुन सक्छ ।

सबै संघसंस्थालाई पहिलो वर्गको जनशक्ति प्राप्त गर्ने चाहना हुन्छ । यसका लागि पहिलो शर्त नातावाद–कृपावाद लाद्नु हुँदैन । निष्पक्ष छनौट विधि अपनाउनु पर्छ, उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिनु पर्छ । सरुवा, बढुवा, प्रोत्साहन जस्ता कार्यमा कुनै भेदभाव गर्नु हुँदैन । समय समयमा अन्तरक्रिया, भेला, गोष्ठी आदिको आयोजना गर्नुपर्छ । आवश्यकतामा आधारित तालिमहरु पर्याप्त मात्रामा आयोजना गर्नुपर्छ । कार्य सम्पादन मूल्यांकनको आधारमा पुरस्कार र दण्डको नीति सबैलाई उस्तैरुपमा लागु गर्नुपर्छ । नतिजामुखी गतिविधिलाई संस्थाको रणनीतिको रूपमा विकास गर्न सक्नुपर्छ । जनशक्तिको मनोवैज्ञानिक प्रभाव सबै क्षेत्रमा पर्ने भएकोले सकारात्मक मनोविज्ञानको विकासमा चासो वृद्धि गर्नु पर्ने हुन्छ । संस्थाको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उपलब्ध जनशक्तिको विकास र परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ ।

संस्कारसहितको समृद्धि अनि लक्ष्य अनुरुपको प्राप्तिका लागि बेलैमा आफ्नो जनशक्ति पहिचान गरेर व्यवस्थापन गरिहाल्नु पर्छ । संस्था प्रमुख÷प्रशासकले पनि सामाजिक न्यायको सिद्धान्तमा होइन कि कुनै अमुक शक्तिको आड, भरोसामा नीति निर्माण र निर्णय गर्न थाल्छ भने त्यो बेलामा पनि तेस्रो वर्ग नै हावी हुन्छ । प्रतिस्पर्धा गरेर अस्तित्व कायम राख्नु पर्ने विश्वको बदलिँदो परिस्थितिमा संस्थाका सम्भावनाहरु के के हुन् ? संस्थाका कमजोरीहरु के–के हुन् ? अवसरहरु के–के छन् ? चुनौतीहरु के–के छन् ? पहिचान गरेर सामूहिक प्रतिवद्धताका कायम गर्न नसकिएमा संस्था ध्वस्त हुँदै जान्छ । संस्थाको आन्तरिक र बाह्य वातावरणको विश्लेषण गरेर नीति बनाउने र व्यक्तिगत गुण र दोषको आधारमा पुरस्कार र दण्डको नीति अपनाएर जिम्मेवारी दिने अवस्था नभएसम्म लक्ष्य प्राप्ति हुनै सक्दैन । जुनसुकै संस्थामा संस्थागत भावना हुने हो भने व्यक्तिगत लाभ हानिका कुरा दोस्रो प्राथमिकताको विषय हो, पहिलो प्राथमिकता चाहिँ संस्थागत समृद्धि नै हो भन्ने संस्थामा रहेका सबैले बुझ्न जरुरी छ ।

Exit mobile version