Home कला गजल मञ्चको ‘गजल यात्रा–५’ विमोचन

गजल मञ्चको ‘गजल यात्रा–५’ विमोचन

गजल यात्रा–५ विमोचन गरिँदै ।

हेटौँडा : गजल मञ्च मकवानपुरको प्रकाशनमा गजलहरुको संग्रह ‘गजल यात्रा–५’ को विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २२ औं स्थापना दिवस तथा २३५औं गजल यात्राको अवसरमा शनिबार गजल संग्रह विमोचन गरेको हो । गजल संग्रहमा नेपाली गजलको इतिहासबारे साहित्यकार निमेष निखिलको कार्यपत्रको आलेखसहित विभिन्न गजलकारहरुको रचना समावेश गरिएको छ ।

साहित्यकार तुलसी घिमिरे, श्यामप्रसाद न्यौपाने, केशव तौैजले, दीपक गौतम, श्रीराम अधिकारी, केशव समर्पण, सुनिल गौतम, डीबी बर्र्तौला, दुर्गा लामिछाने लगायत नवसर्जकसहित ४१ जनाको गजलहरु समावेश गरिएको छ । २०६१ सालमा स्थापना भएको गजल मञ्च मकवानपुरले यसअघि २०६६ सालमा दीपक गौतम अध्यक्ष हुँदा गजल यात्रा–१, गौतमकै नेतृत्वमा २०६८ सालमा गजल यात्रा–२ प्रकाशन भएको थियो । यस्तै २०७८ सालमा अध्यक्ष देवराज तिवारीको नेतृत्वमा गजल यात्रा–३ प्रकाशन भएको र २०८० सालमा अध्यक्ष केशव समर्पणको नेतृत्वमा गजलयात्रा–४ प्रकाशन गरिएको थियो ।

नियमित गजल यात्राको अवसरमा मञ्चमा आजीवन सदस्यहरुलाई परिचयपत्र वितरण गरिएको छ । यस्तै कार्यक्रममा गजल वाचन तथा गीत प्रस्तुत गरिएको थियो । मकवानपुरे साहित्यकार डा. निमेष निखिलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तुलसी घिमिरेको विशेष आतिथ्य रहेको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु देवराज तिवारी, रमेशमोहन अधिकारी, डा. जगदीश चन्द्र बराल, देवराज खरेल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version