हेटौँडाः मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी फागुन ११ गतेदेखि सुरु हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो ।
आइतबार हेटौँडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा अध्यक्ष मोक्तानको सभाध्यक्षतामा बसेको बैठकले प्रतियोगिता फागुनमा हुने निर्णय गरेको हो । प्रतियोगिताको उद्घाटन समारोह हेटौंडा–४ स्थित हुप्रचौरमा हुने अध्यक्ष मोक्तानले बताउनुभयो ।
प्रतियोगितामा ६ वटा विधाका खेलहरु हुनेछ । अध्यक्ष मोक्तानका अनुसार प्रतियोगिता अन्तर्गत भलिबल, उसु, तेक्वान्दो, कराँते, कबड्डी र एथ्लेटिक्स विधाका खेलहरू हुनेछन् । प्रतियोगितामा जिल्लाका पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डबाट छनोट भएर आएका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
पालिकास्तरबाट आएका प्रतिभावान खेलाडीहरूलाई जिल्ला हुँदै राष्ट्रियस्तरसम्म पुर्याउन, उनीहरूको खेल कौशल प्रष्फुटन गर्न र क्षमता विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मोक्तानको भनाइ छ । प्रतियोगिताका विजेताहरुले स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट प्रतियोगिता हो । गत वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेकोे थियो ।











