हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाले कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै आज मंगलबारदेखि खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

बिहीबारसम्म मनहरी गाउँपालिकाभित्र रहेको १४ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयका ४ सय ४७ जना विद्यार्थीलाई खोप लगाउने वरिष्ठ विद्यालय निरीक्षक प्रदिप परजुलीले जानकारी दिनुभयो । तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले खोप लगाउनु हुनेछ भने विद्यालय नर्सले पनि सहयोग गर्नुहुने पराजुलीले बताउनुभयो ।

नेपाल सरकारद्वारा देशव्यापी रूपमा सञ्चालन गरिरहेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप मनहरी गाउँपालिकाभित्रका कक्षा ६ मा अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयका छात्राहरूलाई लगाइनेछ । सूचनामा सम्बन्धित विद्यालयहरूलाई कक्षा ६ का छात्राहरूलाई खोप कार्यक्रममा सहभागी गराउन अनुरोध गरिएको छ ।