Home मुख्य समाचार आचारसंहितामा बाँध्न कठिन

आचारसंहितामा बाँध्न कठिन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारले तिब्रता पाएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन गत माघ ५ गतेबाट निर्वाचन आचारसंहिता–२०८२ लागू गरेको छ । निर्वाचन आयोगले प्रचारप्रसारलाई मर्यादित बनाएर भड्किलो हुन नदिन प्रचारप्रसार गर्ने समय पनि १५ दिनमात्र तोकेको छ । आयोगले आगामी फागुन ४ गतदेखि मात्र औपचारिक रुपमा प्रचारप्रसारको समयतालिका निर्धारण गरेको भए पनि राजनीतिक दल तथा उम्मेदवारहरु निर्वाचन प्रचारप्रसारमा जुटिसकेका छन् । गत माघ ६ गते उम्मेदवारको मनोनयनसँगै अनौपचारिक प्रचारप्रसार सुरु भइसकेको छ । उम्मेदवारहरु दलबलसहित मतदाताको घरघरमा पुगिरहेका छन् ।

निर्वाचन प्रचारप्रसारको समय सुरु नभएकाले दलहरुले औपचारिकरुपमा र्याली, जुलुश, आमसभा, कोणसभाजस्ता कार्यक्रम नगरे पनि मतदाता भेटघाटको नाममा सामूहिक भेला भने गरिरहेका छन् । घरदैलोको क्रममा ठूला–साना समूह हिँडडुल गर्दा सामान्य र्याली तथा जुलुशजस्तै बन्ने गरेको छ । आचारसंहिताले प्रचारप्रसारमा तडकभडक हुन नदिन धेरै कुराहरुमा बन्देज लगाए पनि प्रचारप्रसार सुरु नहुँदै आचारसंहिता उल्लंघन भएको भन्दै आयोगमा थुप्रै उजुरी परिरहेका छन् । चुनावी गतिविधि तिब्र बन्दै जाँदा र आचारसंहिता उल्लंघनका घटना बढ्दै जाँदा आयोगले राजनीतिक दल, दलका नेता, कार्यकर्ता, उम्मेदवार, सञ्चार माध्यमका साथै अन्य सरोकारवालालाई आचारसंहितामा बाँध्न सकिरहेको छैन ।

मकवानपुर जिल्लामा पनि केही उम्मेदवार तथा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको भन्दै कारबाही गरिने चेतावनी दिइएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सर्वपक्षीय बैठक गरेर अबका दिनमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइए कारबाही गर्ने चेतावनी दिइएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत, प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलगायतले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेका हुन् । उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्दै सार्वजनिक स्थलमा दलको झण्डा राखेको, सरकारी सवारी साधनको प्रयोग भएको, तोकिएको समयबाहेक पनि निर्वाचनको प्रचारप्रसार भइरहेको बताइएको छ । सार्वजनिक सवारीमा प्रचारप्रसारको सामग्री प्रयोग गरेको तथा प्रचार्रसारमा दलको झण्डा वा निर्वाचन चिह्न अंकित टिसर्ट, भेस्ट तथा क्यापहरु प्रयोग भइरहेको भन्दै सचेत गराइएको छ । प्रचारप्रसारमा विद्यालय तथा बालबालिकाको प्रयोग गरिएको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, टोलैपिच्छे सम्पर्क कार्यालय खोली तोकिएको १० वटाभन्दा बढी झण्डा तथा ब्यानरहरु राख्ने काम गरिएको पाइएको भन्दै यस्ता कामहरु नगर्न चेतावनी दिइएको हो ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुलाई घटनाको प्रकृति हेरेर एक लाखसम्म जरिवाना गर्नुका साथै उम्मेदवारी रद्द गरिने तथा निर्वाचन कसुरमा अन्य कारबाहीसमेत गर्न सकिने व्यवस्था छ । अहिले निर्वाचन प्रचारप्रसार नगरेर घरदैलोमात्र गर्न पाउने समयमा पनि आचारसंहितामा बाँध्न कठिन भइरहेकाले फागुन ४ गतेबाट सुरु हुने प्रचारप्रसारको समयमा जटिल समस्या पर्नसक्ने आशंका गरिएको छ । निर्वाचन आयोग र मातहतका कार्यालयका साथै स्थानीय प्रशासन तथा सुरक्षा निकायले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिरहँदा पनि आचारसंहितको पालना हुन नसक्दा निर्वाचनको सहज वातावरण बनाउन नसकिने हो कि भन्ने आशंका भइरहेको छ । पर्याप्त र प्रभावकारी अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही नगर्ने हो भने आचारसंहितामा बाँध्न कठिन हुने निश्चित छ ।

Exit mobile version