हेटौँडा : नेपालमा पहिलो पटक सालक संरक्षणका लागि सालक सम्मेलन आयोजना हुने भएको छ । बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय चितवनको सहकार्यमा आज सोमबारदेखि चितवनको माडीमा ‘प्रथम बागमती सालक सम्मेलन’ हुन लागेको हो ।

सालकको संरक्षण, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्न आयोजना गरिएको यस एक दिने सम्मेलनमा करिब २ सय जनाको सहभागिता रहने डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत (डीएफओ) विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्मेलनमा १५ वटा डिभिजन वन कार्यालयका अधिकृतहरू, ६ वटा निकुञ्जका वार्डेनहरू, सामुदायिक वनका प्रतिनिधिहरू तथा सालक संरक्षणमा सक्रिय अभियन्ताहरूको उपस्थिति रहनेछ । डीएफओ आचार्यका अनुसार सम्मेलनमा सालकको जीवनशैली, यसको वर्तमान अवस्था, संरक्षणमा देखिएका चुनौतीहरू, सालक सम्बन्धी कानुनी प्रावधान र समस्याहरूका साथै हालसम्म भएका अभ्यासहरूका बारेमा छलफल र कार्यपत्र प्रस्तुत गरिनेछ ।

पछिल्लो समय नेपालमा बासस्थानको विनास र चोरीनिकासीका कारण सालकको संख्या दिनप्रतिदिन घट्दै गएको छ । हाल नेपालको ६१ वटा जिल्लामा सालक पाइने भए तापनि देशभर यसको संख्या करिब ५ हजारको हाराहारीमा मात्रै रहेको छ । सम्मेलनमा ‘सालक संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक प्यानल छलफल समेत आयोजना गरिनेछ । उक्त छलफलमा नीति निर्माण तहका प्रतिनिधि र सामुदायिक वनका प्रतिनिधिहरूबीच सालक संरक्षणको व्यावहारिक र कानूनी पक्षबारे बहस हुने बताउनु भयो । सालकको संरक्षणका लागि पहिलो पटक हुन लागेको यो सम्मेलनले ठोस रणनीति तय गर्ने विश्वास लिइएको छ ।