बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा राजनीतिक दलहरुमध्ये केहीले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सर्वपक्षीय बैठक गरेको छ । निर्वाचन आचारसंहिता २०८२ ले वर्जित गरेका कामहरु गरेको पाइएकाले अबका दिनमा आचारसंहिता उल्लंघन भएको पाइए सिधै कारबाही गरिने प्रशासनद्वारा चेतावनी दिएकोे हो ।

बैठकमा जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँदै सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनराज जोशीले कतिपय उम्मेदवारहरुले सार्वजनिक स्थलमा दलको झण्डा राखेको, सरकारी सवारी साधनको प्रयोग भएको, प्रचारप्रसारको लागि तोकिएको बिहान ७ बजेदेखि बेलुका ७ बजेबाहेकको समयमा पनि निर्वाचनको लागि उम्मेदवारहरुको प्रचारप्रसार गरिएको बताउनुभयो । सार्वजनिक सवारीमा प्रचारप्रसारको सामग्री प्रयोग गरेको तथा प्रचार्रसारमा दलको झण्डा वा निर्वाचन चिह्न अंकित टिसर्ट, भेस्ट तथा क्यापटोपी प्रयोग गरेको उहाँले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले प्रचारप्रसारमा विद्यालय तथा बालबालिकाको प्रयोग गरिएको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, टोलैपिच्छे सम्पर्क कार्यालय खोली तोकिएको १० वटा भन्दा बढी झण्डा तथा ब्यानरहरु राख्ने काम गरिएको पाइएको भन्दै यस्ता कामहरु नगर्न चेतावनी दिनुभएको हो । उहाँले निर्वाचन प्रायोजनको लागि छुट्टै बैँक खाता खोल्नुपर्नेमा हालसम्म १५ जना उम्मेदवारहरुले मात्र छुट्टै खाता खोल्नका लागि सिफारिस लिएको जानकारी दिनुभयो ।

उम्मेदवारले खर्चको सीमा तथा खर्चको स्रोत खुलाउनुपर्नेमा कतिपयले खुलाउन बाँकी रहेकोमा यथाशिघ्र अध्यावधिक गरी सुधार गर्नसमेत सहायक प्रमुख जिल्ला अधिकारी जोशीले उम्मेदवारहरुलाई आग्रह गर्नुभएको छ । उम्मेदवारी दर्ता गराउने समयमा हतार भएकाले पनि कतिपय उम्मेदवारहरुको आर्थिक स्रोतको विवरण छुटेकाले यसलाई अद्यावधिक गर्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृत दिनेश रेग्मीले आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता लागू हुने अवधिभर कुनै पनि उम्मेदवारले आर्थिक दान गर्न नपाइनेसमेत बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले विभिन्न अनलाइन तथा प्रसारण माध्यमबाट भोट कसलाई भन्ने प्रश्न मतदातालाई गर्नु गोपनियताको अधिकारमाथि प्रहार गर्नु भएकोले आचारसंहिताको उल्लंघन गर्ने सञ्चार माध्यमलाई समेत कारबाही गरिने बताउनुभयो । निर्वाचन प्रचारप्रसारमा खटिने सवारी साधनको ब्लुबुक तथा सवारी चालकको लाइसेन्स दर्ता गराउनसमेत सबै उम्मेदवारहरुलाई निर्देशन दिनुभएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुलाई घटनाको प्रकृति हेरेर एक लाखसम्म जरिवाना, उम्मेदवारी रद्द गरिने तथा निर्वाचन कसुरमा अन्य कारबाहीसमेत गर्न सकिने चेतावनीसमेत प्रमुख जिल्ला अधिकारी अधिकारीले दिनुभएको छ । आचारसंहिता नमान्ने राष्ट्रसेवक कर्मचारीहरुलाई पनि १ लाखसम्म जरिवानासहित कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । यतिबेल घरदैलो मात्र गर्न पाउने समयमा आचारसंहिता नमान्नेले कात्तिक ४ गतेपछि जटिल समस्यामा पार्नसक्ने भन्दै आचारसंहिता अनिवार्य मान्न उम्मेदवारहरुको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले उम्मेदवारहरुले मतदातालाई मतदाता शिक्षामा समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले उम्मेदवार तथा प्रतिनिधिहरुले वडाका टोलटोलमा मतदाताहरुलाई मतदान गर्ने ठिक तरिकाबारे सिकाई मत बदर हुनबाट बचाउन सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारी, निर्वाचन अधिकृत दीपेन्द्र आचार्य, प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी जोशी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक दिनेश रेग्मी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, आसन्न निर्वाचनका उम्मेदवार तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायत जिल्लास्थित सुरक्षा संयन्त्र प्रमुख एवम् प्रवक्ताहरुको उपस्थिति थियो ।