हेटौँडा : देशका सातै प्रदेशका कविहरुले हेटौँडामा आफ्ना रचना वाचन गरेका छन् । शनिबार प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा देशका सातै प्रदेशका ७ जना कविहरुले आफ्ना प्रदेशको प्रतिनिधि कविता वाचन गरेका हुन् ।
सहभागी कविहरुले आफ्ना प्रदेशका सामाजिक समस्या, मौलिक चिनारीलगायतका सामाजिक कुरिति, उत्पीडन विरुद्ध व्यङ्ग्यात्मक कविताहरु समेत वाचन गर्नुभएको थियो । कार्यक्रमम कोशी प्रदेशकी कवि सीता तुम्खेवा, मधेस प्रदेशका कवि यस लामा, बागमती प्रदेशबाट कवि डा. निमेष निखिल, गण्डकी प्रदेशबाट कवि लक्ष्मी थापा, लुम्बिनी प्रदेशकी कवि सुमिना, कर्णाली प्रदेशकी कवि कोकिलाकुमारी सिंह र सुदूरपश्चिम प्रदेशका खेम बतासले आफ्ना तीन–तीन वटा प्रतिनिधिमूलक रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नयाँ पुस्तालाई प्रगतिशील बनाउन प्रगतिशील साहित्यमार्फत समाजमा हुँदै आएका र नहटेका कुरितिविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले साहित्यले आफ्नो अस्तित्व खोज्न सघाउने उल्लेख गर्दै पछिल्लो समय प्रविधिले साहित्यलाई जित्दै गएको बताउनुभयो ।
नगर प्रमुख लामाले साहित्य सिर्जनालाई अझै सशक्त बनाएर प्रस्तुत हुनुपर्ने समय आएको बताउनुभयो । उहाँले सातै प्रदेशका प्रतिनिधि कविहरुले एकै स्टेजमा रचना वाचन गर्ने तारतम्य मिलाउनु एउटा इतिहास भएको उल्लेख गर्दै कार्यक्रममा प्रस्तुत कविहरुका रचना संग्रह गरी प्रकाशन गर्नसमेत सुझाव दिनुभएको छ ।
प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष विशाल अधिकारी (आशुतोष) को सभाध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यसेवी मुक्तिगोविन्द बैद्य, प्रगतिशील लेखक संघका बागमती प्रदेश सचिव डीबी बर्तौला, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, हेटौँडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देललगायत मकवानपुरका साहित्यकार तथा साहित्यप्रेमी विद्यार्थीहरुको उपस्थिति थियो ।











