प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान गर्ने दिन आउन एक महिना बाँकी छ । निर्वाचन आयोगले तोकेको निर्वाचन प्रचारप्रसारको समय सुरु नभए पनि सबै उम्मेदवार निर्वाचन प्रचारप्रसारमा होमिएका छन् । आ–आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग मत माग्दै घरदैलो, भेटघाट तथा छलफलमा दलीय कार्यकर्ता र सहयोगीका साथ उम्मेदवारहरु व्यस्त भइरहेका छन् । मतदान हुने दिन नजिकिँदै जाँदा चुनावी माहोल पनि उत्तिकै तात्तिएको छ । चुनावी प्रचारप्रसारमा मकवानपुरका दुबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु पनि सक्रिय छन् । गत भदौमा भएको जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन गरिएपछि २०८४ सालमा हुनुपर्ने निर्वाचन दुई वर्षअघि नै हुन लागेको हो । विशेष परिस्थितिको उपजको रुपमा हुन लागेको निर्वाचनको माहोल र सम्भावित नतिजा पनि विगतको भन्दा फरक हुनसक्ने अनुमान धेरैको छ ।
यस पटकको निर्वाचनमा पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलबिच व्यापक प्रतिस्पर्धा हुने अुनमान गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी (हाल नेकपा)जस्ता विरासत कायम रहेका राजनीतिक दल र रास्वपा, उज्यालो, श्रम संस्कृतिजस्ता भरखर उदाएका दलहरुबिच देशव्यापी रुपमा चुनावी प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ । पुराना दलहरुका कार्यकर्ता र मतदाता पनि यस पटक नयाँ अनुहार खोजिरहेका छन् । जेनजी आन्दोलनको भावनाअनुरुप नयाँ दल वा नयाँ अनुहारको माग हुनु स्वभाविक हो । जेनजी पुस्ता र विदेशमा रहेका अधिकांश नेपालीहरुबाट पुराना दल र पुरानै अनुहारप्रति असन्तुष्टि उजागर भइरहेको छ । पुराना दलहरुको विभिन्न संगठनमा आवद्ध रहेका र विगतदेखि नै साथ एवम् समर्थन दिँदै आएकाहरु पुरानैलाई निरन्तरता दिन खोज्ने सम्भावना पनि छ । यस्तो अवस्थामा नयाँ–पुरानोबिच चुनावी प्रतिस्पर्धा हुने अनुमान गर्नु स्वभाविक देखिन्छ ।
निर्वाचनको माहोल तात्दै जाँदा मकवानपुरका मतदाताहरुमा पनि परम्परागत राजनीतिक शक्ति र पुराना अनुहारप्रति असन्तुष्टि पाइएको छ । हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका कतिपय मतदाताहरुले यस पटकको निर्वाचनमा अनुमान गरेभन्दा फरक नतिजा आउनसक्ने विचार व्यक्त गरेका छन् । आगामी निर्वाचनमा नयाँ नेतृत्व र एजेण्डाको खोजी गरिनुका साथै परिवर्तन र नयाँ विकल्पलाई प्राथमिकता दिने उनीहरुको भनाइ छ । आगामी निर्वाचनमा मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारमा धेरै नयाँ अनुहार छन् । पुराना दलहरुमध्ये एमाले, कांग्रेस र राप्रपाले एक–एक क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । माओवादी (नेकपा)ले दुबै क्षेत्रमा नयाँ अनुहारलाई मौका दिएको छ । रास्वपाको दुबै क्षेत्रका उम्मेदवार नयाँका साथै एक जना त जेनजी पुस्ताकै छन् । अन्य दलहरुले पनि धेरैजसो नयाँ अनुहारलाई निर्वाचनमा उम्मेदवार बनाएको अवस्था छ ।
अघिल्ला प्रतिनिधिसभा निर्वाचनहरुमा एमाले, माओवादी, राप्रपाका उम्मेदवारले जित्दै आएको मकवानपुरमा कांग्रेस प्रदेशसभाको एक क्षेत्रमा मात्र विजयी भइरहेको छ । विगतको नतिजाको आधारमा बलियो देखिएको एमाले र माओवादीलाई भन्दा कांग्रेसलाई अझ बढी चुनौती हुनसक्ने देखिन्छ । मकवानपुरमा पुराना दलहरु नै एक–अर्काका मुख्य प्रतिस्पर्धी बनिरहेको अवस्थामा देशव्यापी माहोल बन्दै गएको रास्वपाबाट पनि पुराना दलहरुलाई चुनौती थपिने अनुमान गरिएको छ । आगामी दिनमा चुनावी माहोल कस्तो बन्छ र मतदान गर्ने समयसम्म मतदाताहरुको मुड के हुन्छ भन्ने निश्चित नभएको अवस्थामा निर्वाचन परिणाम अनुमान गर्न सहज छैन । पुराना दल र अनुहारप्रति सन्तुष्ट नभएका मतदाताले नयाँ दल र अनुहार छान्ने अवस्था बन्यो भने मकवानपुरमा नयाँ–पुरानाबिच नै चुनावी प्रतिस्पर्धा हुने निश्चित छ ।
