खेलकुद सप्ताहको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रथम खेलकुद सप्ताह सुरु भएको छ । विद्यालयको आयोजना पहिलो पटक बुधबारदेखि खेलकुद सप्ताह सुरु भएको विद्यालयका अक्तिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयले खेलकुद सप्ताह अन्तर्गत शनिबारसम्म एथ्लेटिक्स विधाका विभिन्न खेलहरु र क्रिकेट प्रतियोगिता आयोजना गर्नेछ । प्रतियोगितामा छात्र र छात्राका बीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । संयोजक श्रेष्ठका अनुसार विद्यालयमा अध्ययनरत २ हजार २ सय विद्यार्थीमध्ये बालविकासदेखि कक्षा १२ सम्मका करिब १ हजार ८ सय जना विद्यार्थीहरुले प्रतियोगिता सहभागिता जनाउने छन् । प्रतियोगिताका विजेताहरुले मेडल र प्रमाण प्राप्त गर्नेछन् । यसैगरी उद्घाटनको अवसरमा बुधबार विद्यालयका शिक्षकहरु बीच फुटबल, डोरी तान्ने र दौड प्रतियोगिता भएको थियो ।

अर्को वर्षदेखि खेलकुद सप्ताहलाई अझै भव्यताकासाथ निरन्तरता दिने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले बताउनुभयो । प्रधानाध्यापक घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य तथा वडा सदस्य गीता त्रिपाठीको विशेष आतिथ्य रहेको थियो ।