बिहीबार हेटौँडा–१०, बसपार्कस्थित एक होटलबाट लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले एक नाबालिका र एक युवतीलाई पक्राउ ग¥यो । स्थानीयको गुनासोपछि प्रहरीले होटलमा छापा मारेर लागूऔषध खैरो हेरोइनसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको थियो । बिहीबार नै हेटौँडा–१ का १८ वर्षीय किशोरलाई हेटौँडा अस्पताल परिसरबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । सोही दिन हेटौँडा–११, नमूना टोलबालबाट लागूऔषध ट्रामाडोलसहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टमा सवारीको सुरक्षाजाँच गर्न रोक्न खोज्दा भागेको योद्धा पिकअपलाई प्रहरीले हेटौँडा बजारबाट नियन्त्रणमा लिँदा उक्त गाडीबाट लागूऔषध गाँजा १७२ किलोग्राम बरामद भएको थियो ।

शनिबार पनि मकवानपुर प्रहरीले ३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । मनहरी–३, हाँडीखोलाबाट दुई जनालाई र हेटौँडा–१२, बीचरोडबाट अर्काे एक व्यक्तिलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । आइतबार पूर्व–पश्चिम राजमार्गको हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित बाग्लुङका एक युवालाई पक्राउ गरेको छ । सोमबारसमेत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबारदेखि सोमबारसम्म मकवानपुर प्रहरीले दिनहुँ लागूऔषधसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । यसैबिच प्रहरीले मकवानपुरको कैलाश गाउँपालिकाका ६ वटा वडाका विभिन्न स्थानमा अवैधरुपमा गरिएको गाँजा तथा अफिम खेती फँडानी गरी नष्ट गरेको छ । शुक्रबारदेखि आइतबारसम्म प्रहरी टोलीले २ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा खेती र १२ बिगाह क्षेत्रफलमा लगाइएको अफिम खेती फँडानी गरी पूर्णरुपमा नष्ट गरेको छ । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जनालाई आइतबार पक्राउ गरेकोमा ३ जना लागूऔषध मुद्दामा सजाय तोकिएका व्यक्तिहरु रहेका छन् ।

पछिल्लो समय मकवानपुर प्रहरीका लागि लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ । प्रहरीले दिनहुँजसो लागूऔषधसहित मानिसलाई पक्राउ गरेर मुद्दा चलाउँदै आए पनि लागूऔषध कारोबार झन् बढ्दै गएको छ । अभियान नै चलाएर प्रहरीले लागूऔषध गाँजा तथा अफिम खेती नष्टसमेत गर्दै आएको भए पनि मकवानपुरबाट ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको प्रहरीकै तथ्याङ्कले पुष्टि गर्दछ । लागूऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाइरहेको भए पनि यसको कारोबार फस्टाउँदै जानुले धेरै प्रश्नहरु उब्जाएको छ । विषेशगरी कसले लागूऔषध कारोबारलाई संरक्षण गरिरहेको छ र किन लागूऔषध नियन्त्रण हुन सकिरहेको छैन भन्ने प्रश्न अनुत्तरित बनिरहँदा लागूऔषध नियन्त्रण हुन नसकेको देखिन्छ ।

प्रतिबन्धित लागूऔषधको खेतीपाती, उत्पादन, भण्डारण, ओसारपसार, बिक्री वितरण, सेवन गर्नु गैरकानुनी कार्य हो । लागूऔषधसहित पक्राउ परेका सबैजसो व्यक्तिहरुलाई अदालतले कानुनबमोजिम जेल सजाय तोक्दै आएको छ । पक्राउ पर्नेवित्तिकै जेल जानुपर्ने अवस्था रहँदासमेत मानिसहरु लागूऔषध कारोबारमा संलग्न भइरहनुलाई स्वभाविक मान्न सकिँदैन । लागूऔषध कारोबार मौलाउनु भनेको लागूऔषध दुव्र्यसनको समस्या जटिल बन्नु हो । लागूऔषध दुव्र्यसनको समस्या बढ्दै जाँदा देशको युवा पुस्ता नै प्रभावित हुने भएकाले हरेक व्यक्ति यसतर्फ सचेत बन्नुपर्छ । चुनौतीपूर्ण बनिरहेको लागूऔषध नियन्त्रणमा प्रहरी प्रशासनमात्र नभई राज्यका सबै निकाय गम्भीर बन्नु आवश्यक छ ।