हेटौँडाः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मकवानपुरका राजनीतिक दलहरु जित आफ्नो पोल्टामा पार्ने उद्देश्यले आन्तरिक तयारीमा जुटेका छन् । यतिबेला जिल्लाका प्रमुख दलहरु आन्तरिक तयारी गर्ने क्रममा स्थानीय तथा अगुवा कार्यकतासँग भेटघाटमा जुटेका हुन् ।

नेपाली कांग्रेस मकवानपुरले निर्वाचनलक्षित पुर्नताजगी तालिम तथा भेला गरिरहेको जनाएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएपछि नै कार्यकर्तासँग उम्मेदवार तथा जिल्लास्तरीय कार्यकर्ताहरुले बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका केही वडाहरुमा स्थानीय नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट गरिरहेको नेपाली काग्रेसका जिल्ला सचिव भीमसेन महतले जानकारी दिनुभएको छ ।

जिल्लाका सबै वडाहरुमा प्रतिनिधिहरु खटाइसकिएकोले अब निर्वाचन परिचालन टोल कमिटी निर्माण गरी घरदैलो कार्यक्रम सुरु गर्ने उहाँले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसले क्षेत्र नं १ बाट महालक्ष्मी उपाध्याय ‘डीना’लाई र क्षेत्र नं २ बाट बुद्ध लामालाई उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी बैठकले क्षेत्र नं १ बाट उम्मेदवारसमेत रहनुभएका रामेश्वर राना संयोजक रहने गरी निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ । एमालेको पनि जिल्लाका सबै वडाहरुमा वडा कमिटी गठन गरिरहेकोे एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताउनुभयो । एमालेले मकवानपुर क्षेत्र नं १ बाट रामेश्वर राना र क्षेत्र नं २ बाट महेश बर्तौलालाई उम्मेदवार बनाएको छ । उम्मेदवारहरु पार्टीको पालिका तथा वडाका अगुवा कार्यकर्ताहरु तथा मतदातासँग भेटघाट तथा छलफल गर्ने क्रममा रहेको उपाध्यक्ष लामाले बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीले पनि हाल आन्तरिक संगठनहरु व्यवस्थित गर्न लागिपरेको जनाएको छ । निर्वाचनलक्षित प्रचारप्रसारका लागि स्थानीय कमिटीहरु गठन गर्ने काम भइरहेको निर्वाचन क्षेत्र नं १ का निर्वाचन संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो । क्षेत्र नं २ की निर्वाचन संयोजक कुमारी मोक्तानले उम्मेदवारहरु पालिका, वडा तहमा बैठक तथा भेलामा व्यस्त भएको बताउनुभएको छ । मोक्तानका अनुसार निर्वाचन क्षेत्रभित्रका पालिका तथा वडाहरुमा संगठन बिस्तार गर्दै निर्वाचन परिचालन संयोजकहरु घोषणा गर्ने क्रम चलिरहेको छ । उहाँले नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं १ बाट विजय गौतम र क्षेत्र नं २ बाट लवशेर बिष्टलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालका कार्यबाहक अध्यक्ष सागर थापाको संयोजकत्वमा जिल्ला निर्वाचन अनुगमन समिति निर्माण गरेको छ भने जिल्ला निर्वाचन परिचालन कमिटी गुरुप्रसाद सापकोटाको संयोजकत्वमा निर्माण भएको छ । हाल दुवै क्षेत्रमा उम्मेदवारहरु घरदैलोमा मतदाता भेटघाटमा अग्रसर भइरहेकोे पार्टीका कार्यबाहक अध्यक्ष सागर थापाले बताउनुभयो । राप्रपाले क्षेत्र नं १ मा यसअघि सांसद रहनुभएका दीपकबहादुर सिंह र क्षेत्र नं २ मा रामबहादुर थोकरलाई उम्मेदवार बनाएको छ ।

यस्तै, जिल्लामा सक्रिय रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक हप्ताअघिबाटै घरदैलो सुरु गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म दुबै निर्वाचन क्षेत्रमा पालिका तथा वडाहरुमा कार्यकर्ता तथा मतदातासँग भेटघाट गरिहेको निर्वाचन क्षेत्र नं २ का संयोजक निराजन बर्तौलाले जानकारी दिनुभयो । हालसम्म जिल्लाका अधिकांश पालिकाभित्र भेटघाट सकिसकेको संयोजक बर्तौलाले स्पष्ट पार्नुभयो ।

जिल्लामा प्रमुख प्रतिद्वन्द्वीको रुपमा रहेका यी दलहरु कुनैले पनि हालसम्म आफ्ना एजेन्डा प्रस्तुत गरेका छैनन् । सबै दलहरुले केन्द्रबाट पार्टीको एजेन्डा प्राप्त भएपछि जिल्लास्थित उम्मेदवारहरुले आफ्ना–आफ्ना एजेन्डा बनाउने पनि स्पष्ट पारेका छन् । यस्तै, अन्य चुनावी कार्यक्रमहरु भने आचारसंहिताको कारण फागुन ४ गतेपछि मात्रै सञ्चालन गर्ने बताएका छन् ।