आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता पालना गराउन हम्मेहम्मे पर्दै गएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता–२०८२ कार्यान्वयनमा ल्याइएको छ । गत माघ ५ गतेबाट आयोगले निर्वाचन आचारसंहिता लागू गरेको हो । प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै देशभर चुनावी गतिविधि तिब्र बनिरहेको छ । उम्मेदवार आ–आफ्नो क्षेत्रमा घरदैलोलगायत चुनावी अभियानमा सक्रिय बनिरहँदा निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै निर्वाचन आयोगमा उजुरी पर्ने क्रम पनि व्यापक बनिरहेको छ । निर्वाचन आचारसंहिता पालनाका लागि निर्वाचन आयोग तथा मातहतका कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुले आग्रह गर्दै आएका छन् ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले केही दिनअघि मकवानपुरका पत्रकारहरुसँग निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया गरेको थियो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकृतहरुले निर्वाचन आचारसंहिता पालनामा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षकसमेतको उपस्थितिमा कार्यक्रम भएको थियो । यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि पत्रकार भेटघाट कार्यक्रम गरेर निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । केही दिनअघि मात्र जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी प्रमुखले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न र फागुन २१ गतेको निर्वाचन भयरहीत वातावरणमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको भन्दै सञ्चार माध्यमहरुले पनि आचारसंहिता पालना गरी जिम्मेवार बन्न आग्रह गरेका हुन् ।
निर्वाचन आचारसंहिता पालनाको लागि सबै पक्षले आग्रह गरिरहँदा निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनका उजुरी पर्ने क्रम भने बढ्दै गएको छ । आचारसंहिताको पूर्ण पालनाका लागि सरोकारवाला सबैलाई ध्यानाकर्षण गराउँदै आएको आयोगले आचारसंहिता उल्लघङ्न हुन नदिन आफ्ना गतिविधि तिब्र बनाइरहेको छ । आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ । आयोगमा पाँच वटाको जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ । आयोगलको सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाइले ३ सय २ वटा हानिकारक सूचना पहिचान गरी कारबाहीका लागि सम्बद्ध निकायमा पठाएको छ । निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी आचारसंहिता विपरित कुनै गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश/जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुमगन अधिकृतसमक्ष लिखित, मौखिक एवम् विद्युतीय माध्यमबाट उजुरी दिन सकिनेछ ।
आयोगले हरेक निर्वाचनमा निर्वाचन आचारसंहिता लागू गर्ने गरेको छ । आचारसंहिता राजनीतिक दल तथा उम्मेदवारका साथै संघ, प्रदेश र स्थानीय तहका सबै निकाय, अर्धसरकारी संस्था, संवैधानिक निकाय, सुरक्षा निकायहरुमा कार्यरत सबैलाई लागू हुन्छ । सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक, विकास साझेदार संस्था, सामुदायिक विद्यालय तथा विश्वविद्यालयका शिक्षक÷कर्मचारीलाई पनि आचारसंहिता लागू हुन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहीत बनाउन लागू गरिएको आचारसंहिता छलेर गलत काम हुन नदिन सबै चनाखो हुनु आवश्यक छ । विगतमा पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन नसकेको अवस्थामा यस पटकको निर्वाचनमा पनि आचारसंहिता पालना गराउन सहज छैन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सकेमा यसको पालना गराउन सहज हुने देखिन्छ ।











