हेटौँडा : दोस्रो नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबलको उपाधि हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । शनिबार हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा हेटौँडा–१८, हर्नामाडीस्थित ज्योति माविलाई सोझो सेटले हराउँदै आधुनिकले उपाधि जितेको हो ।
प्रतियोगितामा हेटौँडा–५, पिप्लेस्थित बालज्योति मावि तृतीय भएको छ । बालज्योतिले हेटौँडा–१४ स्थित भृकुटि माविलाई २–१ को सेटले पारजित गरेको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो । शनिबार बिहान भएको सेमिफाइनल अन्तर्गतको खेलमा आधुनिक माविले भृकुटि माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने बालज्योति माविले ज्योति माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा २ वटा आधारभूत विद्यालय र १८ वटा माध्यमिक विद्यालय गरी २० वटा सामुदायिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिता नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाको व्यवस्थापन तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ को आयोजनामा भएको हो । गत वर्षको प्रतियोगितामा ११ वटा सामुदायिक विद्यालयको सहभागिता रहेकोमा यस वर्ष प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यालयहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका अध्यक्ष भोगेन्द्र लुईटेलको सभाध्यक्षता तथा वडाध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।











