हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको व्यवस्थापनमा जिल्लास्तरीय पुरुषतर्फ खुल्ला शिक्षक दौड तथा महिलातर्फ स्लो स्कुटी रेस सम्पन्न भएको छ । शनिबार हेटौँडा–४ मा सम्पन्न खुल्ला शिक्षक पुरुष दौड प्रतियोगितामा मकवानपुरगढी–३ स्थित भानु माध्यमिक विद्यालयका शिक्षक मुकेश चौलागाई प्रथम हुनुभएको छ । प्रतियोगितामा हेटौँडा–४ स्थित नवोदय शिशु सदनका बिजेन लामा दोस्रो हुनुभएको छ भने राक्सिराङ गाउँपालिकास्थित सूर्योदय माविका सुजन कुमार ओझा तृतीय हुनुभएको छ ।
राक्सिराङ गाउँपालिकाकै प्रजा जनजागृति माविका शिक्षक जयराम पौडेल चौथो र प्रजा जनजागृति माविकै शिक्षक पुजन साह पाँचौं हुनुभएको । दौड प्रतियोगितामा प्रथम हुनेले ६ हजार, दोस्रो हुनेले ५ हजार, तृतीय हुनेले ४ हजार, चौथो हुनेले ३ हजार र पाँचौ हुनेले २ हजार रुपैयाँ प्राप्त गरेका छन् । हेटौंडा ४ स्थित शितलमहल चोकबाट सुरु भएको तीन किलोमिटर दौड थाहाचोक हुँदै कमलडाँडा, भैरवरोड हुँदै मिलनचोक हुँदै पुन शितलमहल चोकमै टुङ्गिएको थियो । दौडमा ३५ जना शिक्षकहरुको सहभागिता थियो ।
यस्तै महिला शिक्षकतर्फ स्लो स्कुटी रेसमा हेटौँडा–१४ स्थित भृकुटी माविकी शिक्षिका सृजना थिङ् प्रथम हुनुभएको छ । हेटौँडा–४ स्थित नवोदय शिशु सदनकी प्रमिता कार्की द्वितीय, हेटौँडा–४ स्थित भुटनदेवी माविकी सरस्वती अधिकारी तृतीय, हेटौँडा–४ कै श्रमिक माविकी रमिका शाक्य चौथो र मकवानपुरगढी–३ स्थित भानु माविकी शिक्षक बिष्णुमाया नगरकोटी पाँचौ हुनुभएको छ । स्कुटी रेसमा ४७ जना सहभागी थिए । प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ४ हजार, तृतीय हुनेले ३ हजार, चौथो हुनेले २ हजार र पाँचौं हुनेले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपमहासचिव श्रीराम दाहाल, बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य मोहनप्रसाद शर्मा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश कोाषध्यक्ष लक्ष्मी चौलागाई, बागमती प्रदेश कमिटीकी सदस्य लक्ष्मी कुमारी अधिकारी, पेशागत महासंघ नेपाल बागमती प्रदेशका उपाध्यक्ष सिताराम दाहाल लगायतको उपस्थिति थियो ।











