हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरद्वारा आयोजित अन्तरविद्यालय भलिबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुनेछ । छात्र र छात्रा भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने प्याव्सन मकवानपुर अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभयो ।

हेटौँडा–४ स्थित हुप्रचौरको भलिबल कोर्टमा जारी प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ ५ वटा संस्थागत विद्यालयको सहभागिता रहेको छ । छात्रातर्फ प्रयिोगिताको फाइनलमा हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय र हेटौँडा–४ स्थित नवोदय शिशु सदन माध्यमिक विद्यालय भिड्ने छ भने छात्रातर्फ ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालय र सुनगाभा शिक्षा निकेतन भिड्ने छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा छात्रातर्फ ज्ञानोदयले ब्रहमदिक् एकेडेमीलाई २–० को सेटमा र छात्रतर्फ ज्ञानोदयले तुलसीमेहर मेमोरियल स्कूललाई २–१ को सेटमा पराजित गरेर फाइनलमा पुगेको हो । यसैगरी दोस्रो सेमिफाइनलमा छात्रातर्फ नवोदयले हेटौँडा–४ स्थित जिएस निकेतनलाई २–० को सेटमा र छात्रतर्फ सुनगाभाले ज्ञानोदय एकेडेमीलाई २–० को सेटमा हराउँदै फाइनलमा पुगेको हो ।

प्याव्सनको वार्षिक खेलकुद सप्ताह अन्तर्गत बिहिबारदेखि प्रतियोगिता आयोजना गरिएको हो । खेलकुद प्रतियोगिताअन्तर्गत प्याव्सन मकवानपुरले आईतबारदेखि मंगलबारसम्म क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।