उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौँडा : बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले घरेलु, हस्तकला, कृषिजन्य उत्पादनहरुको प्रयोग र बिक्री वितरण उद्यमशीलताको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१०, बसपार्कमा आयोजित तेस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशका प्रमुख देवकोटाले आफ्नै उत्पादनहरुको प्रयोग आत्मनिर्भरताको बाटो भएकोले आन्तरिक उत्पादनको खपत गर्न र निकासीमा अत्यधिक जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले घरेलु तथा हस्तकला र कृषिजन्य उत्पादनले स्वरोजगारलाई बढावा दिएर रोजगारी सृजना समेत गर्ने र देशको कला संस्कृति संरक्षण पनि हुने हुनाले यसलाई सबै निकायहरुबाट बढावा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यापारले केही धनी बनाउन सक्षम भएपनि रोजगार र उत्पादन दिन सक्दैनन् । यसले हरेक सरकारले ठाउँ विशेष र स्थानीय कच्चा पदार्थमा आधारित उत्पादन पकेट क्षेत्रहरु घोषणा गरी र पूर्वाधारसहितका औद्योगिक ग्रामहरु स्थापना गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले घरेलु उद्योग तथा हस्तकलाका सामग्रीहरुको उत्पादनले स्थानीय पहिचान राख्ने हुनाले प्रदेश सरकारले प्रबद्र्धनका लागि प्राथमिकता दिएको र यस्ता सामग्रीहरुलाई कोशेली घरहरुमार्फत बिक्री गर्न सकिने बताउनुभयो । उहाँले साना तथा घरेलु उत्पादन उपभोक्ताहरुले प्रयोग गर्ने परिपाटीको थालनी गर्नुपर्ने पनि बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजना तथा स्थानीय विभिन्न संघसंस्थाहरुको समन्वयमा भएको सो मेला शनिबारसम्म चल्नेछ । उक्त प्रदर्शनी मेला तथा नृत्य प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका भित्रका विभिन्न वडाहरुबाट लघु उद्यमीहरु सहभागी भएका छन् । मेलामा निःशुल्क उपलब्ध गराइएका १ सय वटा स्टलहरु रहेका छन् भने प्रदर्शनीमा स्टल राख्ने घरेलु उत्पादक व्यवसायीलाई आवतजावतका लागि यातायातको समेत व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा स्थानीय जातजाति, भेषभुषा तथा पहिचान झल्कने गरी नृत्य प्रतियोगितासमेत आयोजना भइरहेको छ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई शनिबार हुने समापनमा ५० हजार, द्वितीयलाई ३५ हजार र तृतीयलाई २० हजार पुरस्कार प्रदान गरिनेछ । यसैगरी कार्यक्रममा वडाका ज्येष्ठ नागरिकलाई सम्मान, उत्कृष्ट प्रदर्शन सहभागी उद्यमीलाई पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ । कार्यक्रममा वडाका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

कार्यक्रममा हेटौँंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, हेटौँडा वडा नं ४ का अध्यक्ष नवीन सिग्देल, वडा नं १० का अध्यक्ष फुर्वा दार्जे लामा, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रतिमा श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।