Home मुख्य समाचार ज्ञानदीपको रजत महोत्सव सुरु

ज्ञानदीपको रजत महोत्सव सुरु

विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा (जीएस) निकेतनको २५औं वार्षिकोत्सव (रजत महोत्सव) सुरु भएको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा विद्यालय परिसरमा रजत स्तम्भको अनावरण गर्दै महोत्सवको शुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बालबालिकाहरू नै देशको भविष्य रहेकोले उनीहरूको संस्कार र सिकाईको जग बलियो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कक्षागत रुपमा बालबालिकाहरुले बिभिन्न बाल संगीतहरूमा नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रस्तुत गरेका थिए । यस्तै रजत जयन्तीको अवसरमा विद्यालय परिसरमा विद्यार्थीद्वारा गणित, विज्ञान, सामाजिक विषयको प्रदर्शनीका साथै खाना तथा पुस्तकको समेत स्टल राखिएको थियो । कार्यक्रममा प्रत्येक कक्षामा उत्कृष्ट अंक प्राप्त गरी कक्षामा प्रथम, द्वितीय तथा तृतीय हुन सफल र गएको एसइइमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

रजत जयन्ती समारोह मूल समितिका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेलको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, विद्यालय सञ्चालक समिति सदस्य खिलप्रसाद बराल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायत विद्यालय सञ्चालक समितिका सदस्य, शिक्षक एवम् विद्यार्थीहरुको सहभागिता थियो । रजत महोत्सवको उद्घाटन समारोह अघि प्रभातफेरीको आयोजना गरिएको थियो । विद्यालयबाट सुरु भएको प्रभातफेरी हेटौँडा बजारक्षेत्र परिक्रमा गरी पुनः विद्यालयमै पुगेर सभामा परिणत भएको थियो ।

Exit mobile version