हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभ्रे जिल्लामा बिहीबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१८, गांजीपुर टोलमा अचेत अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय धिरज चन्द ठकुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार बिहान ८ बजेर ३० मिनेटको समयमा धिरज आफ्नै सुत्ने कोठामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएको थियो । उपचारका क्रममा बिहान १० बजेर १५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका–२ स्थित कोइरी खोलामा लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरिदेउराली–२ नाग्रेगगर्चे बस्ने ३० वर्षीया सबिता नेपाली रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ ५ बजेको समयमा सबिता घरबाट विद्यालयको कार्यक्रममा सहभागी हुन जाने क्रममा कोइरी खोलास्थित गोरेटो बाटोबाट लडेर ३० मिटर तल ठाडो खोल्साको छेउमा ढुङ्गामा ठोकिँदा घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
