डायपर १ अलि खँदिलो, भरिलो र झरिलो थियो । त्यसो त ऊ डायपर २ भन्दा मलिलो र झोलिलो पनि थियो र त बोझिलो पनि थियो ।
पहिलोले ठस् ठस् कन्दै कन्दै आफ्नो कम्पनी र मार्केटिङ स्ट्राटेजीबारे बोल्यो । आफूलाई सबैले विश्वास गरेको र बजारमा जति भाउ बढाए पनि खोजी–खोजी बिक्री हुने बतायो । कम्पनीले माटोमा मिल्ने डायपर बारे सोचिरहेकोमा चित्त नबुझेको बतायो । माटैमा मिल्नेगरी त के जिउनु हो भन्दै आफैँलाई प्रश्न ग¥यो । निरन्तर बोलिरहेको उसले भन्यो, ‘तिमी त नर्सरीका फुच्चेका डायपर त हौला नि, यी हेर तिम्रा दाइलाई ब्याचलर पढ्नेवालाको मलमूत्र बोकेर आएको हुँ ।’
डायपर १ को भलिभाँती सकिएको त थिएन नै । आफू ५ मिनेटदेखि बोलिराख्दा केही नबोलेको देखेपछि डायपर नम्बर २ तिर हेरेर फर्किँदै सोध्छ, ‘फुच्चे केही त बोल् यार ।’
‘दाइ डायपरहरू यदि नागरिक हुन् भने सबैभन्दा इमान्दार नागरिक हुन् । मान्छेले लुकाउने कुरालाई हामी गर्वले बोक्न सक्छौँ ।’ डायपर २ को तर्कले पहिलोले अनुहार खुम्च्याउँछ र सोध्छ, ‘तिमी राजनीतिक विश्लेषक हौ कि क्या हो भाइ ? मान्छे जेल परेजस्तो मलमूत्र बोकेको कति वर्षको योगदान छ तिमीसँग ?’
‘इनकलाव जिन्दावाद इनकलाव जिन्दावाद ।’ नारा लाउँदै डायपर ३ स्याँ–स्याँ गर्दै फ्यात्त झर्न आइपुग्यो । यतिमात्रै होइन, बोल्दाबोल्दैका अघिल्ला डायपरको मुखै थुनिदियो । अरू सबैलाई थिचेर माथि परेको उसले हालखबर सोध्यो, ‘डायपरहरू के छ तिमीहरूको खबर ?’
मुख बन्द भएकोले अघिल्लो डायपरले कानबाट आवाज निकाल्यो, ‘हाम्रो त उही हो पुख्र्यौली पेसा धानिरहेका छौँ बरू तिम्रो चाहिँ के छ नि !’
डायपर ३ भन्छ, ‘व्यापक बदलाव छ गाउँसहरमा । तिमीहरू नै अन्तिम डायपर हौ, जो पेटका विकार र दुर्गन्ध बोकेर आएको छौ । देशमा पूराना डायपरहरूका विरूद्ध ठूलो क्रान्ति भइरहेको छ । यस्तो क्रान्ति हाम्रो पुर्खाको इतिहासमा कहिल्यै भएको थिएन । यो पाला डायपरहरूले बेग्लै बिकार बोकेर आउँदैछन् । तर फाल्नेहरू साह्रै खुसी छन् । आल्हादित छन् । आशावादी छन् । उनीहरूको खुसी सूचक बढ्दैछ ।’
अघिल्ला डायपरहरूले बडो शसङ्कित र उत्तेजित हुँदै भने, ‘हाम्रो अस्तित्व के हुन्छ अब ? कतै हाम्रा पुस्ताहरू बेकारी त हुन्नौँ ?’
पछिल्लो र अनुभवी डायपर बोल्छ, ‘म उमेरमा कच्चा हुँला, देख्दामा बच्चा हुँला तर विकारहरू डायपर छेडेर बाहिर निस्कँदा पनि सफाइ गर्नुको साटो अर्को डायपरले छोप्नेहरू यतिखेर उदास छन्, दङ्गदास छन्, निराश छन्, हतास छन् तर लुकाएका सबै आफ्नैअगाडि पर्दाफास छन् ।’
अनि सुन्नोस्, परिवर्तन भन्ने चिज बाजा बजाएर नआउँदो रहेछ । यसैले आत्तिनु पर्दैन डायपरजी । अब मलमुत्रको मात्रै कुरा होइन, पूराना विचार, थोत्रा आदर्श, दुर्गन्धित सोच, अपारदर्शिता, चुत्थोपन, बेतुकका घुराइ अनि चाउरिएका कुतर्कहरू बोकेका कैयन् डायपरहरू यसै बोरामा खाँदिनेछन् ।
(लेखक सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।)
