दुर्घटनापछि उद्दारमा खटिँदै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली ।

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९, एचआईडीमा रोकी राखेको ट्रिपरलाई ग्याँस बुलेटले ठक्कर दिएको छ । दुर्घटनामा परी ग्याँस बुलेटका चालक भारत झारखण्ड राज्यको जयनगरका ४७ वर्षीय साविर खान गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा घाइते खानलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका ईन्चार्ज प्रहरी निरीक्षक देवराज काफ्लेले जानकारी दिनुभएको छ । हेटौंडाबाट पथलैयातर्फ लैजानका लागि ढुङ्गा लोड गरेर रोकी राखेको ना ७ ख ५६७१ नम्बरको ट्रिपरलाई सोही दिशातर्फ जाँदै गरेको एनएल ०१ एल १४०३ भारतीय नम्बर प्लेट भएको खाली ग्याँस बुलेटले आज साँझ पौने ८ बजेको समयमा ठक्कर दिएको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीले ट्रिपरका चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिकाका २९ वर्षीय राजकुमार लोप्चनलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्दारको कार्य गरिरहेको छ ।