हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डको अनुगमन गर्दै नेकपा मकवानपुरका नेताहरु ।

हेटौंडाः नेकपाका नेताहरुले आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकास्थित आइसोलेसन वार्ड र क्वारेन्टिनको अनुगमन गरेका छन् । कोरोना भाइरस सङ्क्रमण व्यापक भइरहेका बेला नेताहरुले क्वारेन्टिन र आइसोलेसन वार्डको अनुगमन गरेर प्रभावकारी व्यवस्थापनका लागि पहल गरेको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभा सदस्य समेत रहनुभएकी सिग्देलले मनहरी गाउँपालिकाको क्वारेन्टिन र आइसोसेलन वार्ड र हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डको अनुगमन गरिएको जानकारी दिनुभयो । मनहरीमा क्वारेन्टिन र आइसोलेसनमा बस्नेको सङ्ख्या न्यून भएकोले व्यवस्थापन सहज भएको पाइएको उल्लेख गर्नुहुँदै सिग्देलले भन्नुभयो, ‘गौरिटारस्थित आइसोलेसन वार्डमा दैनिक उल्लेख्य सङ्ख्यामा कोरोना सङ्क्रमित आउने जाने भइरहँदा व्यवस्थापनमा केही समस्या भएको पायौं । देखिएका समस्या समाधान गर्न व्यवस्थापनमा खटिएका साथीहरुलाई भनेका छौं ।’

गौरिटारस्थित आइसोलेसनमा सङ्क्रमित भएर आउने नयाँ समूहलाई पनि पुरानो समूहसँगै घुलमिल गराउने गरिएको भन्दै गुनासो गरिएपछि व्यवस्थापनलाई दुई/तीन समूह बनाएर छुट्टछुट्टै राख्न व्यवस्थापनलाई भनिएको सिग्देलले बताउनुभयो । गौरिटार आइसोलेसनमा उपचाररत सङ्क्रमितहरुमा अहिलेसम्म जटिल समस्या नदेखिए पनि भोलिका दिनमा समस्या देखिन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै चिकित्सक, स्वास्थ्यकर्मी थप गरेर आकस्मिक उपचार कक्ष पनि स्थापना गर्न सुझाव दिइएको उहाँले बताउनुभयो । सङ्क्रमित भई आफूहरु आइसोलेसनमा बसिरहँदा आफ्नो घरमा सुरक्षाकर्मी, जनप्रतिनिधि गएर सङ्क्रमितको घर भनेर पोष्टर टाँसेर थप तनाव भएको भन्ने गुनासो गरेको अनुगमनमा सहभागी नेकपा मकवानपुरका जिल्ला कार्यालय सदस्य श्रीधर पोखरेलले जानकारी दिनुभयो । पिसिआर रिपोर्ट ढिलो गरी आउनुले पनि समस्या भएकोले समाधानमा ध्यान दिन सङ्क्रमितहरुले गुनासो गरेको नेता पोखरेलको भनाइ थियो ।

अनुगमन समितिमा नेकपा मकवानपुर जिल्ला कमिटीका सचिव तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानको पनि सहभागिता रहेको थियो । मनहरीमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले अनुगमन टोलीलाई क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो भने गौरिटारस्थित आइसोलेसन वार्डमा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले जानकारी गराउनुभएको थियो ।