हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा डिजल लोड रहेको ट्याङ्करमा आगो लागेको छ । सोमबार दिउँसो ४ बजेर २० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेमा डिजल लोड ट्याङकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बारा जिल्लाको अमलेखगन्जस्थित आयल निगमको डिपोबाट रुपन्देही जान लागेको लु १ ख ६६०९ डिजेल लोड ट्याङकर गुडिररहेको अवस्थामा अचानक इन्जिनको भागबाट आगोलागी भएको बताइएको छ । आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा ७ जना, प्रहरी चौकी रातोमाटेबाट ट्राफिकसहित ४ जनाको टोली खटी गएको थियो ।
हेटौँडा उपमहानगरपालिकाको एउटा दमकल र अमलेखगंजस्थित नेपाल आयल निगमको एउटा दमकल गरी जम्मा २ वटा दमकलको सहयोगमा साँझ ६ बजेर ५ मिनटेको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट इन्धन रहेको भागमा क्षति नपुगेको बताइएको छ । प्रहरीले ट्र्याङकरका चालक रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–३ का ५८ वर्षीय कृष्ण बहादुर थापा मात्र सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर तालमा ट्रक डुबेको छ । शनिबार साँझ ४ बजेर ३० मिनेटको समयमा इन्द्रसरोवर गाउँपालिका–१, मार्खुचौरस्थित मार्खु कंलंकी सडक खण्डमा कलंकीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर खानेपानी बोकेको आईचर गाडी रोकी पानी झार्ने क्रममा अचानक अगाडि बढन गई सडकबाट १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको प्रहरीले उल्लेख गरेको छ । अस्थायी प्रहरी पोष्ट मार्खुबाट प्रहरी सहायक निरीक्षक दिपेश यादवको कमाण्डमा टोली खटिएर गएको, आइचर गाडी पानीमा डुबेर नदेखिने अस्थामा रहेको, निकाल्न आवश्यक पहल हुँदै गएको उल्लेख गरेको छ ।











