झापा–५ यतिबेला चर्चाको शिखरमा छ । बालेन साहले केपि ओलि बिरूद्ध उम्मेदवारी दिएपछि सारा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान झापामा केन्द्रित छ । बालेन भर्सेस बाको भिडन्त रोचक देखिएको छ । बालेनलाई रास्वपाले आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । अहिले त्यसक्षेत्रमा बालेको क्रेज बढ्दो छ । पुराना भर्सेस नयाँ भन्ने नारा यो चुनावको मुद्दा भएको छ ।

नयाँ किन भन्ने प्रश्नले पुरानाले दशकौंसम्म जनतालाई झुक्काएको, मुलुक यथास्थितिमा रहेको कारण देश बदल्नूपर्छ भन्ने नवयुवाको जोडदार आवाज रहेको छ । नेपालको राजनीतिमा अहिले देखिएको असन्तोष आकस्मिक होइन । यो दशकौंको निराशा, असक्षम नेतृत्व, अहंकारयुक्त सत्ता अभ्यास र जनताबाट टाढिँदै गएको राजनीतिक वर्गको परिणाम हो । यही पृष्ठभूमिमा काठमाडौं महानगरका प्रमुख बालेन साह विकल्पकोरूपमा उदय भए । यिनी केवल एक व्यक्ति होइनन्, यिनी जनतामा बढ्दो वैकल्पिक राजनीतिक चेतनाका प्रतीक बनेर आएका छन् ।

सामाजिक सञ्जालको लोकप्रियता, दलविहीन जित र सत्ता संरचनामाथि प्रश्न गर्ने शैलीले बालेनलाई परम्परागत राजनीतिका लागि असहज पात्र बनाएको छ । यसै असहजताले अब राजनीतिक संघर्षलाई नयाँ मोडमा पु¥याएको छ । बालेन साहले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चुनौती दिने घोषणा गरेसँगै यो द्वन्द्व व्यक्तिगत वा भावनात्मक रहेन, यो वैचारिक र संरचनात्मक संघर्षमा रूपान्तरण भएको छ । शक्तिको केन्द्रमै गएर चुनौती दिनु सामान्य चुनावी निर्णय होइन, यो नेपाली संसदीय राजनीतिमाथि गरिएको सिधा प्रश्न हो के पुरानै नेतृत्व अब पनि अपरिहार्य छ ?

बालेन साहका लागि चुनाव जित्न सुरक्षित र सजिला क्षेत्रहरू उपलब्ध थिए । काठमाडौंमै पुनः उम्मेदवार बनेको भए वा आफ्नै पुख्र्यौली सम्बन्ध रहेको तराई क्षेत्रबाट उठेको भए उनको जित प्रायः सुनिश्चित थियो । तर उनले त्यो बाटो रोजेनन् । उनले रोजे झापा–५ जहाँ सत्ता, संगठन र अहंकारको प्रतिनिधित्व गर्ने नेता बसेका छन् । पूर्वप्रधानमन्त्रीको किल्लामै पुगेर चुनौती दिनु राजनीतिक साहसको पराकाष्ठा हो । बालेन केवल लोकप्रिय नेता होइन, जोखिम मोल्न सक्ने राजनीतिक पात्रका रूपमा उभ्याएको छ ।

संसदीय व्यवस्थामा प्रधानमन्त्री निर्वाचनअघि घोषणा हुँदैन । दलले बहुमत ल्याएपछि संसदीय दलको नेता चयन हुन्छ र प्रधानमन्त्रीको रुपमा अघि सारिन्छ । तर अहिले नेपालको राजनीतिक मनोविज्ञान यस औपचारिकताभन्दा अगाडि बढिसकेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साहलाई निर्वाचनअघि नै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ । स्वयम् बालेनले पनि यो चुनाव संसदीय मात्र नभई प्रत्यक्ष जनादेश खोज्ने शैलीमा लडिरहेका छन् । संसदीय चुनावलाई राष्ट्रपतिको चुनावजस्तै बनाउने यो प्रवृत्ति नयाँ हो, तर यो असन्तुष्ट जनमतको स्वाभाविक अभिव्यक्ति पनि हो ।

यस्तो प्रवृत्ति नेपालमा पहिलोपटक देखिएको होइन, न त विश्व राजनीतिमा अनौठो नै हो । सन् २०१४ मा भारतमा भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई निर्वाचनअघि नै प्रधानमन्त्रीको रूपमा प्रस्तुत ग¥यो । त्यो जोखिमपूर्ण निर्णय थियो, तर मोदीको व्यक्तिगत लोकप्रियताले देशव्यापी लहर सिर्जना ग¥यो । मोदीलाई प्रधानमन्त्री बनाउन भन्ने भावनाले सांसदहरू जित्दै गए र भाजपा पूर्णबहुमतमा पुग्यो । पार्टीभन्दा व्यक्ति केन्द्रमा आएको त्यो क्षणले भारतको राजनीतिक दिशा नै परिवर्तन ग¥यो ।

यस्तै उदाहरण फ्रान्समा इमानुएल म्याक्रो हुन् । परम्परागत दलहरू असफल हुँदा म्याक्रोले नयाँ राजनीतिक आन्दोलन सुरु गरे र छोटो समयमै राष्ट्रपति बने । इटालीमा फाइभ स्टार मुभमेन्ट, स्पेनमा पोदेमोस, जर्मनीमा ग्रीन पार्टीको उदय हुनुले देखाउँछ जब पुराना दलहरूले जनताको अपेक्षा सम्बोधन गर्न सक्दैनन्, तब जनता नयाँ शक्ति, नयाँ अनुहार र नयाँ शैलीमा भरोसा गर्न थाल्छन् । यस्ता शक्तिहरू सुरुमा अपरिपक्व, अनुभवहीन वा खतरा भनेर आलोचित हुन्छन्, तर तिनकै उदयले राजनीतिक प्रणालीलाई सुधारतर्फ धकेल्छ ।

नेपाल पनि अहिले त्यही मोडमा उभिएको देखिन्छ । झापा–५ मा जनताले केवल प्रतिनिधि होइन, प्रतीक खोजिरहेका छन् । लामो समयदेखि एउटै अनुहार, एउटै शैली र एउटै भाषणबाट आजित मतदाताहरू परिवर्तनको संकेत दिन चाहन्छन् । केपी ओलीको राजनीतिक यात्रा उपलब्धिविहीन छैन, तर अहंकार, दम्भ र असहमतिको स्थान नदिने शैलीले उनको स्वीकार्यता कमजोर हुँदै गएको यथार्थ हो । आफ्नै पार्टीभित्र विरोधी आवाजलाई निषेध गर्ने, सत्ता आफ्नै वरिपरि सीमित गर्ने प्रवृत्तिले जनताको धैर्य क्षीण बनाएको छ ।

यस्तो अवस्थामा केपी ओलीलाई प्रत्यक्ष चुनौती दिन सक्ने राजनीतिक, नैतिक र प्रतीकात्मक क्षमता अहिले बालेन साहसँग मात्र देखिन्छ । बालेनका कमजोरी छैनन् भन्ने होइन । उनका कतिपय अभिव्यक्ति भावनात्मक छन्, शैली विवादास्पद छ । तर भ्रष्टाचारप्रति असहमत उभिने साहस, सत्तासँग नडराउने आत्मविश्वास र जनतासँग प्रत्यक्ष संवाद गर्ने क्षमताले उनलाई परम्परागत नेताहरूभन्दा फरक बनाएको छ । यही फरकपन नै आजको राजनीतिक पूँजी हो ।

झापा–५ को चुनाव एउटा सिटको लडाइँ मात्र होइन । यो नेपालको राजनीतिक भविष्यबारे जनमत संग्रह हो पुरानै अनुहार र शैली दोहो¥याउने कि नयाँ जोखिम मोल्ने ? यदि अहंकार जित्यो भने यथास्थिति बलियो हुन्छ । यहि साहसले जित्यो भने नयाँ राजनीतिक युगको ढोका खुल्न सक्छ । संसारभर देखिएको अनुभवले भन्छ परिवर्तन सधैं सुरक्षित विकल्पबाट होइन, जोखिम उठाउने साहसबाट आउँछ ।

‘बा’ र बालेनको यो संघर्ष अन्ततः व्यक्तिको हार जितमा सीमित नहोला । यसले नेपाली राजनीतिले कुन दिशामा अघि बढ्ने भन्ने संकेत दिनेछ । इतिहास प्रायः परिवर्तनको पक्षमा उभिन्छ । अब प्रश्न एउटै छ के झापा–५ परिवर्तनको त्यो संकेत दिन तयार छ ? अस्तु ।