राजनीतिमा विचारको अभाव हुँदा शब्दहरू चिप्लिन थाल्छन् । अनि शब्द चिप्लिएपछि तिनले कहिले भाषा लडाउँछन्, कहिले भूगोल, कहिले सभ्यता नै । पछिल्ला दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका अभिव्यक्तिहरू सुन्दा लाग्छ देश विकासको दौडमा होइन, तुलना र तिरस्कारको प्रतिस्पर्धामा दौडिरहेको छ ।
अध्यक्ष ओलीले बालेन साहको आलोचना गर्ने क्रममा ‘महोत्तरी अझै गुइँठा बाल्छ, झापा धेरै आधुनिक छ’ भन्नुभयो । सुन्दा लाग्यो, अब नेपालमा विकास मापन आयोग होइन, चुलो निरीक्षण विभाग खोल्नुपर्ने भयो । ग्यास छ भने आधुनिक, गुइँठा छ भने पिछडिएको । यस्तो सरल सूत्र त गणितमा पनि हुँदैन, राजनीति त झन् जटिल विषय हो ।
गुइँठा बाल्नु महोत्तरीको लाज होइन, गरिबी र संरचनागत असमानताको परिणाम हो । तर सत्ता र सुविधाको शिखरमा बसेर त्यसैलाई होच्याउने शब्दमा बदल्नु गैरजिम्मेवारी मात्र होइन, राजनीतिक संवेदनहीनताको उत्कृष्ट नमूना हो । झापा आधुनिक छ, ठीक हो । तर महोत्तरीलाई ‘गुइँठे’ देखाएर झापाको महिमा बढ्छ भन्ने सोच आफैंमा हर्क साम्पाङ्वाला ‘गुइँठे’ सोच हो ।
अब सचिव महेश बस्नेततिर फर्कौं । उहाँले बालेन साहको मैथिली भाषणमा प्रयोग भएको ‘छौरा’ शब्दलाई ‘कुकुरको छाउरा’ को रुपमा अथ्र्याउनुभयो । यो त भाषाविज्ञान होइन, भाषाको अपमान हो । मैथिली भाषामा ‘छौरा’ भनेको साधारणतया छोरा हो । तर राजनीति जब भाषाशास्त्र पढाउँछ, तब शब्दको अर्थ होइन, नियत खुल्छ ।
यदि ‘छौरा’ कुकुरको बच्चा हो भने नेपालीका लाखौँ मैथिली आमाबाबुले आफ्ना सन्तानलाई ‘छौरा’ भनेर बोलाउँदा के सोचिरहेका हुन्छन् ? कि त्यो नियम मैथिलीका लागि मात्रै हो ? कि केही नेताका लागि भाषा पनि वर्गीय र क्षेत्रीय आधारमा छुट्याएर बुझ्नुपर्छ ?
विडम्बना के छ भने, यिनै नेताहरू राष्ट्रिय एकता, भाषिक सद्भाव र सामाजिक समावेशीताका ठूला भाषण दिन पछि पर्दैनन् । तर व्यवहारमा भने भाषालाई हतियार बनाएर राजनीति गर्छन् । भूगोललाई चिढ्याएर ताली खोज्छन् । समुदायलाई होच्याएर शक्ति प्रदर्शन गर्छन् ।
महोत्तरीमा गुइँठा बाल्छ भनेर व्यङ्ग्य गर्दा सायद एउटा कुरा बिर्सियो, त्यही महोत्तरीले देशलाई अन्न दिएको छ, श्रम दिएको छ, सेनामा जवान दिएको छ, कर दिएको छ । झापा जत्तिकै देश हो महोत्तरी पनि । आधुनिकता भनेको सडक र भवन मात्र होइन, दृष्टि र विवेक पनि हो । केही नेताहरूले ग्यासको चुलोमा चिया त उमाल्न सिके, तर सोच भने अझै विभाजनको गुइँठामा नै पकाइरहेका छन् । धुँवा यति बाक्लो छ कि उनीहरूलाई आफ्नै संविधानका शब्दहरू पनि देखिँदैनन्, समावेशी, सम्मान, समानता । अरुलाई होच्याउन अन्धविश्वासको छौडा बनेर दोबाटो ढुक्छन् ।
राजनीतिक आलोचना आवश्यक छ । बालेनको नीति, शैली, निर्णय–सबैमाथि बहस हुनुपर्छ । तर आलोचना जब भाषा र भूगोलमाथि झर्छ, तब त्यो राजनीति रहँदैन, सस्तो उत्तेजना बन्छ । नेताको उचाइ उनको पदले होइन, शब्दको जिम्मेवारीले नापिन्छ । संस्कृतिको बहुलतामा झुलेको देशलाई बस्नेत सेनाले आफ्नै रीतिरिवाजको वर्षदिने कात्रो भिराउन खोज्दैछन् र बालेनको पाथीभरा माताको दर्शनलाई भत्र्सना गर्दैछन् । त्यो पनि यति ग्रुपको केवलकारमा झुण्डेर ।
अन्ततः प्रश्न यति मात्रै हो,
यदि महोत्तरीले गुइँठा बाल्नु अपराध हो भने, शब्द र सोचमा आगो लगाएर देश पोल्ने यो प्रवृत्तिलाई के भनिन्छ ?
सायद त्यसलाई राजनीतिक गैरजिम्मेवारी भनिन्छ—जसले न झापा आधुनिक बनाउँछ, न महोत्तरी सम्मानित, केवल नेताको स्तर मात्रै उदाङ्गो भई छौडा र गुइँठे प्रमाणित हुन्छन् ।










