हेटौँडा : रजत महोत्सवको अवसरमा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतनको खेल सप्ताह सुरु भएको छ । आईतबारदेखि पिप्ले–क्याम्पा रंगशालामा विभिन्न खेलकुदको आयोजना गरी खेल सप्ताह सुरु भएको विद्यालयका सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी दीपक गौतमले जानकारी दिनुभयो ।
आइतबार कक्षा ८ र ९ का विद्यार्थीहरु बीच कक्षागत खेल खेलाइएको हो । १०० मिटर, २ सय मिटर, ३ सय मिटर, ४ सय मिटर रिले दौड प्रतियोगिता र सटपुट प्रतियोगिता भएको सहायक प्रधानाध्यापक गौतमले बताउनु भयो । कक्षा ६ देखि कक्षा ९ सम्मको प्रतियोगिता पिप्ले–क्याम्पा रंगशालामा र कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका प्रतियोगिताहरु विद्यालय परिसरमा हुने उहाँले बताउनु भयो । कक्षागत विजेताहरुलाई माघ १८ गते मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिनेछ ।
विद्यालयका प्रधानाध्यापक इश्वरप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको उद्घाटन समारोह सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो । उद्घाटन समारोहमा सहकारीका उपाध्यक्ष राजेश घिमिरे, सचिव लीलानाथ ढुङ्गेलको पनि आतिथ्य रहेको थियो ।
