अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि पुरनबहादुर जोशी ।

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा कमाने प्रिमियर लिग (केपीएल) को उद्घाटन खेलमा कमाने इप्लानेट ब्लास्टर्सले कमाने एक्सपर्ट भिजन–११ लाई ६ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको एक्सपर्ट भिजनले १६ ओभर १ बलमा ९४ रनमा अलआउट हुन पुगेको थियो । इप्लानेट ब्लास्टर्सले १५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो । इप्लानेटका लागि युविन बुढाथोकीले ४७ बलमा सर्वाधिक ६६ रन बनाए । यसैगरी बलिङ्तर्फ २ रन खर्चिएर ४ विकेट लिएका दिपसन चौलागाई प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै शनिबार भएको दोस्रो खेलमा कमाने लायन्सले कमाने रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । सुरुमा व्याटिङ्ग गरेको रोयल्सले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ९८ रन मात्रै जोडेको थियो । ९९ रनको लक्ष्य पछ्याएको लायन्सले १० ओभर ३ बलमा २ विकेट गुमाएर भेटाउन सफल भयो । कमाने लायन्सका म्यान अफ द म्याच बनेका शुभ कंशकारले २० बलमा अविजित ४९ रन बनाएका थिए ।

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगिता हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको मैदानमा भइरहेको छ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।