मतदान गर्दै एक जनप्रतिनिधि ।

हेटौँडा : राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागतमी प्रदेशमा ३१८ मत खसेको छ । कुल ३३८ मत मध्ये २० जनाले मतदानमा सहभागी भएनन् । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानको कार्यक्रमको निर्धारित समयमा ३१८ जनाले मतदान गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्धारित बागमती प्रदेशसभाका ११० सदस्य मध्ये १०४ जनाले मताधिकार पाएका थिए । ६ जनाले पदबाट राजीनामा गरेकाले मताधिकार पाएनन् । मताधिकार पाएका मध्ये ८९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । प्रदेशसभाका १५ जनाले मतदान गरेनन् । आइतबार बिहान ९ बजेदेखि मतदान सुरु भएर दिउँसो ३ बजेसम्मका लागि मतदानको अवधि निर्धारण गरिएको थियो ।

त्यस्तै स्थानीय तहका २३८ प्रमुख र उपप्रमुख मध्ये ३ जनाको राजीनामा र एक निलम्बनका कारण मताधिकार पाएनन् । जसका कारण २३४ मतदाता मध्ये २२९ जनाले मतदान गरेको श्रेष्ठले बताइन् । स्थानीय तहका ५ जनाले मतदान नगरेको उनको भनाई छ ।