हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीसँग पत्रकारिताबारे अन्तरक्रिया भएको छ । लकडाउन हुनुअघि नै पठनपाठन बन्द भएको विद्यालयले लकडाउन र जारी निषेधाज्ञाको समयमा पनि भर्चुअल माध्यमबाट विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको रुपमा विभिन्न विषयमा रहेर अन्तरक्रिया गरिरहेको छ । भर्चुअल माध्यमबाट पाँचौ अन्तरक्रियाको रुपमा आज पत्रकारिताको विषयमा अन्तरक्रिया भएको हो ।
विद्यालयका शिक्षक कैलाश धिताल र रविन श्रेष्ठको सहजीकरणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाई र शिक्षक युक्तलाल विश्वकर्माको समेत उपस्थितिमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा समृद्ध समाज दैनिक एवम् रेडियो निकास ९३.४ मेगाहर्जका सम्पादक सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीले पत्रकारिताको प्रक्रिया, पत्रकार हुन आवश्यक शैक्षिक योग्यता, पित् पत्रकारिता, भ्रामक समाचार, पत्रकारको सुरक्षा, सूचनासँगको पहूँच एवम् सूचना सङ्कलनको प्रक्रिया, पारिश्रमिकका विषयमा जिज्ञासा राखेका थिए । सहजकर्ता सुरेश श्रेष्ठले पत्रकारितामा व्यावसायिक अवसरहरु भए पनि सामाजिक उत्तरदायित्ववहन गरेर पत्रकारिता गर्ने प्रवृत्तिमा ह्रास आएको, पत्रकारिताको व्यावसायिक अभ्यासका अवधारणाबारे जानकारी गराउनुभएको थियो ।
विद्यालयका शिक्षक युक्तलाल विश्वकर्माले पत्रकारिताको विषयमा विद्यार्थीको जिज्ञासा र अन्तरक्रिया फलदायी भएको उल्लेख गर्नुहुँदै विद्यालयले भित्तेपत्रिका प्रकाशन गर्ने गरेको जानकारी दिनुभयो । विषम् परिस्थितिका बाबजुद विद्यार्थीलाई समसामयिक विषयमा जानकार गराउन भर्चुअल माध्यमबाट भए पनि अन्तरक्रियाको आयोजना गरिएको शिक्षक कैलाश धितालको भनाइ छ । पाँचौ हप्तासम्म आइपुग्दा विद्यार्थीहरु अन्तरक्रियामा सहभागी हुन प्रेरित भइरहेको र प्रभावकारी बन्दै गएको शिक्षक रविन श्रेष्ठले बताउनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईले शिक्षकको सक्रियतामा थोरै भए पनि विद्यार्थीलाई ज्ञानवद्र्धक क्रियाकलाप सम्भव भएको बताउनुभयो । अन्तरक्रियामा ३० जना विद्यार्थीको सहभागिता रहेको थियो ।