Home मुख्य समाचार सरस्वती पूजा नहुने हेटौँडाको एक विद्यालय

सरस्वती पूजा नहुने हेटौँडाको एक विद्यालय

हेटौँडा : विद्यालयमा सरस्वती पूजा हुँदैन वा भएन भन्ने सुन्नु भयो भने तपाइँलाई कस्तो लाग्छ ? तर, स्थापनाको ३३ वर्ष भइसकेको हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टनेशन एकेडेमीमा हालसम्म सरस्वती पूजा गर्ने गरिएको छैन ।

शुक्रबार मकवानपुरका अधिकांश विद्यालयहरुले श्रीपञ्चमीको दिनलाई शैक्षिक उत्सवको रुपमा मनाइरहँदा सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीले भने सरस्वती पुजाको रुपमा उत्सव मनाएन । २०४९ सालमा स्थापना भएदेखि नै श्रीपञ्चमीमा बिदा दिएर खाली राख्दै आएको विद्यालयले श्रीपञ्चमीमा अन्य विद्यालयहरुले राख्ने अक्षरारम्भ कार्यक्रम समेत राख्ने गरेको छैन ।

अघिल्ला वर्षहरुमा विद्यालय नै बन्द गर्ने गरेकोमा यस वर्ष भने नयाँ बालबालिका भर्ना गर्न आउनेका लागि कार्यालय भने खोलेको थियो । अन्य शैक्षिक संस्थाहरुले श्रीपञ्चमीलाई ज्ञान, कला, संस्कृति आरम्भ गर्ने उत्सवको रुपमा मनाउँदै आएकोमा यस विद्यालयले नमनाउँदा नरमाइलो लाग्ने गरेको विद्यार्थीहरुको भनाइ छ । शैक्षिक सार्वजनिक गुठीद्वारा सञ्चालित यस विद्यालयलाई इसाई धर्मलाई प्राथमिकता दिएको आरोप लाग्दै आएको छ । यद्यपी आफुहरुले दशैं, तिहार, लगायतका अन्य प्रमुख चाडहरु मनाउँदै आएको भएपनि श्रीपञ्चमीमा सरस्वती पूजा भने स्थापनाकादेखि नै नगरिएको विद्यालयका सहायक प्रिन्सिपल श्याम कृष्ण ज्ञवालीले बताउनुभयो ।

विद्यालय भनेको सरस्वतीको मन्दिर हो भन्ने गरिएको स्मरण गर्नुहुँदै सोलिड्यारिटीका एक अभिभावकले भन्नुभयो, ‘सोलिड्यारिटीका सञ्चालकहरु इसाई धर्मावलम्बी भए पनि धर्म निरपेक्ष नेपालमा विद्यालयमा सरस्वती पूजा नहुनु विभेदपूर्ण छ । मैले मेरो छोरीलाई सम्झाउन, फकाउन नै कठिन भयो । विद्यालयमा सरस्वती पूजा हुन्न भनेपछि अरु नै विद्यालय लैजान बाध्य भएँ ।’ इसाई धर्मावलम्बी नभए पनि अन्य विद्यालयले क्रिसमस मनाइरहँदा सोलिड्यारिटीमा भने सरस्वती पूजा नै मनाउन नहुने कुरा सान्दर्भिक नभएको उनको भनाइ छ ।

Exit mobile version