हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले यस वर्ष किसान सूचीकरणको लागि तथ्याङ्क संकलनको काम सक्ने लक्ष्य लिएको छ । संघीय सरकारको सशर्त अनुदानमा आधारित भएर तीन वर्षदेखि तथ्याङ्क संकलन गरिरहेको उपमहानगरपालिकाले किसान सूचीकरण कार्यक्रमको अन्तिम चरणको तथ्याङ्क संकलन गर्ने कार्य यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको हो ।
तथ्याङ्क संकलनका लागि संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा सशर्त अनुदान मार्फत ३ लाख ४५ हजार बजेट बिनियोजन गरेको छ । हेटौँडा उपमहानगरपालिकाले पनि थप ५ लाख बजेट बिनियोजन गरेको जनाएको छ । आर्थिक वर्ष २०७९/०८० देखि हेटौँडाका किसानहरुको तथ्याङ्क संकलन सुरु गरी वडा नं ६, १६, १७, १८ का घरधुरीको तथ्याङ्क संकलन गरिएको किसान सूचीकरण कार्यक्रमकी सम्पर्क व्यक्ति अस्मी पौडेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा वडाहरु १२, १३, १४ र ३ का ४ हजार ८ सय ५४ घरधुरीमा तथ्याङ्क संकलन गरिएको पौडेलले बताउनुभयो । हालसम्म नगर क्षेत्रका ९ हजार ६ सय ४२ घरधुरीमा तथ्याङ्क संकलन गरिसकिएकोमा यस वर्ष बाँकी रहेका वडाहरु १, ११, १९, ७, ८, ९ र १५ मा तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन गरिने जानकारी पौडेलले दिनुभयो ।
तथ्याङ्क संकलनका लागि १० जना गणकहरु नियुक्त गरी चैतदेखि संकलन कार्य सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ । गणक नियुक्ति विज्ञापनका लागि प्रक्रियामा रहेको समेत जनाइएको छ ।
किसान सूचीकरण प्र्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८१ मा उल्लेख भए अनुसार यस कार्यक्रममा संकलित तथ्याङ्कमा आधारित भएर नगर क्षेत्रका किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । भविष्यमा उपमहानगरपालिकाले सोही वर्गाीकरण अनुसार किसानका सुविधा, अनुदानलगायतका तय गर्ने पनि पौडेलले बताउनुभयो ।










