पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा माघ १६ र १७ गते घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक प्रदर्शनी मेला हुने भएको छ । १० नं वडा कार्यालयको आयोजना तथा स्थानीय विभिन्न संघसंस्थाहरुको समन्वयमा मेला हुने बिहीबार वडा कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

उक्त प्रर्दशनी मेला तथा नृत्य प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाहरुबाट लघु उद्यमीहरु सहभागी हुने वडा नं १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । मेलामा १ सय वटा स्टलहरु रहने र स्टलहरु निःशुल्क रहनेसमेत उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा स्टल राख्ने घरेलु उत्पादक व्यवसायीलाई आवतजावतका लागि यातायातको समेत व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नगर क्षेत्रका लघु उद्यमीहरुले स्थानीय स्तरमा उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको वडा अध्यक्ष लामाले स्पष्ट पार्नुभयो । प्रदर्शनीमा स्थानीय जातजाति, भेषभुषा तथा पहिचान झल्कने नृत्य प्रतियोगितासमेत आयोजना हुनेछ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३५ हजार र तृतीयलाई २० हजार पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

मेलाकै अवसरमा वडाका ज्येष्ठ नागरिकलाई सम्मान तथा प्रदर्शनीमा सहभागी उत्कृष्ट उद्यमीलाई पुरस्कारको व्यवस्था गरिने जनाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईईमा सहभागी भई उत्कृष्ट जीपीए ल्याएका विद्यार्थीलाई वडाको तर्फबाट पुरस्कृत गरिने जानकारी दिइएको छ । मेलामा विभिन्न घरेलु उद्यम सञ्चालन गरिरहेका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहनका लागि सम्मान गरिनेछ । मेला सञ्चालनका लागि वडा कार्यालयले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष लामाले बताउनुभयो ।