हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणसँग रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका हातहतियार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन आह्वान गरेको हो ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हतियारहरू संकलन गर्न लागिएको प्रशासनले जनाएको छ । यसरी बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएको एक महिनापश्चात सम्बन्धित धनीलाई नै फिर्ता गरिने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।