दुर्घटनाग्रस्त बोलेरो गाडी ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक भीमफेदी–कुलेखानी सडकखण्डमा बोलेरो पिकअप गाडी ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान १ बजेको समयमा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप गाडी ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा सहचालक सर्लाही जिल्लाको वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डल, १६ का छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा सहचालक रोहनको बिहान ४ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन् ।