हेटौंडाः किसानको हितका लागि कृषि र भेटनरीको सेवा छुट्टाछुट्टै हुनुपर्ने केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण प्रसाद देबकोटाले बताउनुभएको छ । बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका सम्पुर्ण निकाय एवम् कार्यालयहरुलाइ एकीकृत गरी एकद्वार प्रणालीबाट सेवादिने उद्देश्यका साथ कार्य अगाडि बढाएकोमा सो कार्य तत्काल अगाडि नबढाउन बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई ध्यानाकर्षण गराइएको छ ।
संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटा र महासचिब रामप्रसाद आचार्यले बुधबार एक बिज्ञप्ति जारी गरी बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका कार्यहरु छुट्टाछुट्टै हुनुपर्ने कुराको जानकारी गराउनुभएको छ ।
एकीकृत सेवा दिन जटिल हुने र परिणाममुखी कार्य नहुने भएकोले हाललाई एकीकृत सेवा दिने कार्य अगाडी नबढाउन संघका केन्द्रिय अध्यक्ष देवकोटाले ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि र भेटनरी सेवालाई छुट्टाछुट्टै रुपमा अझ प्रभावकारी र ब्यवस्थित बनाउन समेत अनुरोध गर्नुभयो ।
कृषि र भेटनरीको एकीकृत सेवा दिदा आर्थिक र सामाजिक क्षेत्र उकास्ने गरेको अपेक्षा र आत्मनिर्भरता समेतको लक्ष्य पुरा नहुने हुँदा यसलाई अझ ब्यवस्थित गर्नु पर्ने कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिमा कृषि र भेटनरी सेवालाई छुट्टाछुट्टै बनाइ गाउँका कृषकलाई धेरै सुबिधा उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।
बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभोड–१९) का कारण बिदेश र सहरबाट युवाहरु गाँउ केन्द्रित भइरहेको अवस्थामा बैकल्पिक रोजगारिको रुपमा कृषि र पशुपालन भएको साथै कृषि र पशुपालनलाई व्यावसायिक र ब्यवस्थित गर्नको लागि पनि कृषि र भेटनरीलाई एकीकृत गर्न नहुने संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो ।
देवकोटाले प्रदेश सरकारको गरिवी निवारण गरी निर्यातमुखी कृषि र पशुपालन ब्यवसायलाई सफल बनाउनका लागि पनि कृषि र भेटनरीलाई छुट्टाछुट्टै रुपमा संचालन गर्नु पर्ने बताउनुभयो ।