आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मंगलबार उम्मेदवार मनोनयन हुँदैछ । समानुपातिक प्रणालीको निर्वाचन प्रयोजनार्थ उम्मेदवारहरुको बन्दसूची करिब ३ साताअघि नै निर्वाचन आयोगमा पेश भइसकेको छ भने आयोगले समानुपातिकतर्फको बन्द सूचीको प्रक्रिया पूरा गरिसकेको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली अर्थात् प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपछि मुलुकमा निर्वाचन चहलपहल व्यापक हुनेछ । देशभर रहेका १६५ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलको तर्फबाट तथा स्वतन्त्र रुपमा चुनावी प्रतिस्पर्धामा भाग लिनेहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् । यसका लागि सबै जिल्लाहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर जिल्लाको उम्मेदवारी दर्ता र निर्वाचनसम्बन्धी अन्य कामका लागि हेटौँडा–११ स्थित तरकारी तथा फलफूल थोकबजारका लागि निर्मित भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

घोषित निर्वाचन कार्यतालिकाअनुसार आज हुने उम्मेदवारको मनोनयन दर्ताका लागि पुराना तथा नयाँ राजनीतिक दलहरुले धमाधम उम्मेदवारको टुङ्गो लगाइरहेका छन् । विभिन्न दलहरुबीच चुनावी तालमेल हुनसक्ने भएकाले कतिपय क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको छैन । केही जिल्ला तथा क्षेत्रमा केही राजनीतिक दलहरुबिच तालमेल गरेर मनोनयन दर्ता हुने भएको छ भने अधिकांश निर्वाचन क्षेत्रहरुमा सबै दलहरुले मनोनयन दर्ता गर्ने सम्भावना देखिएको छ । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि धेरै प्रदेशसभा सदस्यले राजीनामा दिइसकेका छन् । कतिपय स्थानीय तहका प्रमुख तथा अध्यक्ष एवम् उपप्रमुख तथा उपाध्यक्ष र निर्वाचित वडा अध्यक्षहरु पनि पदत्याग गरेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न तम्सिएका छन् । स्वतन्त्र निर्वाचन लडेर विजयी भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेको र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफैँ पार्टी खोलेर उम्मेदवार बन्न लागेको विषयले धेरै चर्चा पाइरहेको छ ।

विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा देखिएको नेतृत्व विवादका कारण उम्मेदवारी मनोनयन र निर्वाचन परिणाममा पर्नसक्ने प्रभावप्रति धेरैको चासो देखिएको छ । नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष ओलीको विपक्षमा उम्मेदवारी दिएकाहरु सबैजसोलाई उम्मेदवारको अवसर नदिएको अवस्थाले एमालेको चुनावी गतिविधिमा हुनसक्ने प्रभावले पनि केही चर्चा पाउने सम्भावना छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन र अन्य प्रभावशाली व्यक्तिहरु प्रवेश गरेपछिको राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउने उम्मेदवार र त्यसबाट प्राप्त हुने निर्वाचन परिणाम अहिले सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको छ । कुलमान घिसिङ र हर्क साम्पाङ नेतृत्वको नयाँ दलहरुको निर्वाचन परिणाम कस्तो आउला भन्ने चासो पनि उत्तिकै देखिन्छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको परिणामस्वरुप प्रतिनिधिसभा भङ्ग भएकाले अहिले निर्वाचन हुन लागेको कारण पनि अहिलेको निर्वाचनलाई अर्थपूर्णरुपमा हेरिएको छ । पुराना राजनीतिक दल र वैकल्पिक राजनीतिक शक्तिको रुपमा दावी गरिएका नयाँ दलहरुबिचको चुनावी प्रतिस्पर्धाको रुपमा यस पटकको निर्वाचनलाई विशेष मानिएको हो । कुन दलले कसलाई उम्मेदवार बनाउँछ, कुन व्यक्ति कहाँबाट चुनाव लड्छ र निर्वाचन परिणाम कस्तो आउँछ भन्ने बढ्दो चासोले आसन्न निर्वाचनको व्यग्र प्रतीक्षा भइरहेको छ । आम नेपाली नागरिक र मतदाताले यस पटकको निर्वाचनमा पुरानै राजनीतिक दलका उम्मेदवार वा नयाँ राजनीतिक दलका उम्मेदवार वा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका कसलाई मत दिनेछन् त्यसैको आधारमा निर्वाचन परिणाम आउने निश्चित छ ।