हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा भएको बीसौँ राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आइतबार र सोमबार हेटौँडामा भएको प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको हो ।
विभिन्न तौल समूहमा भएको प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्दै पुलिस क्लबले उपाधि हात पारेको छ । ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै नेपाल आर्मी क्लब उपविजेता बनेको छ । यस्तै, ३ स्वर्ण र ५ कास्य पदक प्राप्त गरेको बागमती प्रदेश तृतीय हुन सफल भएको छ ।
प्रतियोगितामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ गरी १० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा महिलातर्फ ४८ केजी, ५७ केजी, ७० केजी र ७८ केजी तौल समूहमा र पुरुषतर्फ ६० केजी, ६६ केजी, ८१ केजी र १०० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सबै क्षेत्र तथा तौल समूहमा १४ स्वर्ण, २८ कास्य तथा ५६ रजत गरी ९८ पदकका लागि प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा स्वर्ण, कास्य र रजत पदक विजेताले क्रमशः ५ हजार, ३ हजार, २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । समापन कार्यक्रमको प्रमुख अतिथि पूर्वजुडो खेलाडी एवम् बागमती प्रदेशसभा सदस्य नुरज बज्राचार्यले विजेताहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार हस्तान्तरण गर्नुभयो ।











